जंक फुड र प्रोसेस्ड फुड बीचको भिन्नता धेरैले बुझेका छैनन्- होमनाथ न्यौपाने

  २०७४ फागुन १३ गते १६:४०     विकासन्युज

एफ.एम.सी.जी. डिभिजन, बी.एल.सी. प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपाने कम्पनी व्यवस्थापनको साथै फुड टेक्नोलोजीको जानकार हुनुहुन्छ । हाल वहाँ चौधरी ग्रुप अन्तर्गतको बी.एल.सी. प्राइभेट लिमिटेडको फुड एण्ड बेभरेज डिभिजनको कार्यकारी प्रमुख हुनुहुन्छ । धरानबाट फुड टेक्नोलोजी विषयमा स्नातक गर्नुभएका न्यौपानेले सन् २००८ मा एस म्यानेजमेन्ट इन्स्टिच्यूटबाट एमबीए गर्नुभएको छ । प्रस्तुत छ वहाँसँग औद्योगिक रुपमा प्रशोधित खाद्यान्नको बजार, गुणस्तर र समाजमा यसको बढ्दो उपभोग वारे गरिएको विकास बहस ।

होमनाथ न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, एफ.एम.सी.जी. डिभिजन, बी.एल.सी. प्राइभेट लिमिटेड


तपाईंको व्यावसायिक संलग्नता र अनुभव कस्तो छ ?

एमबिए गर्नुभन्दा पहिले मैले २ वटा बहुराष्ट्रिय र एउटा राष्ट्रिय कम्पनीमा काम गरेँ । मैले काम गरेका कम्पनीहरुमध्ये एउटा चाहिँ इन्डियन कोलाब्रेसन अन्तर्गतको लर्ड शिव फुड एण्ड कन्फेक्सनरी थियो भने त्यो भन्दा अगाडी चौधरी ग्रुपको सी.जी.फुड्स प्रा.लि. थियो । त्यो भन्दा अगाडी काबरा ग्रुपमा करिब अढाई वर्ष काम गरेँ । यसरी एमबिए अगाडि करिब ६ वर्ष कामको अनुभव लिइसकेपछि मैले करिब ९ वर्ष एमबिए सकेर नेबिको प्रा.लि. मा सीईओको रुपमा काम गरेँ । त्यसयता बी.एल.सी. प्रा.लि. अन्तर्गत फुड एण्ड वेभरेज डिभिजनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छु । यस अन्तर्गत ५ वटा कम्पनी रहेका छन् । यसमा पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि., पशुपति डाइट्स एण्ड फुड्स प्रा.लि., स्ट्याण्र्ड मिल प्रा.लि., महालक्ष्मी मैदा मिल प्रा.लि. र हेटौंडा डेरी इण्डष्ट्रिज प्रा.लि. रहेका छन् ।

नेपालीहरुको खानपान शैलीमा धेरै परिवर्तन आएको छ । खासगरी बजारबाट तयारी खानेकुरा किनेर ल्याई खाने प्रचलन राम्रो हो कि नराम्रो ?

यसमा दुई वटा पाटाहरु छन् । एउटा रेमिट्यान्सको पाटोलाई हेर्नुपर्छ । धेरै नेपालीहरु विदेशमा काम गर्न गएका छन् । उनीहरु नेपाल आउँदा ड्राई फुड ल्याउने र इलेक्ट्रोनिक सामान ल्याउले प्रचलन बढ्यो । अर्को पाटो भनेको अहिले हरेक गाउँपालिकामा कच्ची भएपनि सडकको पहँुच पुगेको छ । प्रत्येक गाउँमा सरकारी वा निजी विद्यालय खुलेका छन् । यसले मानिसहरुको शैक्षिक चेतनामा वृद्धि भैरहेको छ । साथै सञ्चार माध्यमको विकासले मानिसहरुलाई इलेक्ट्रोनिक सामान र इण्डस्ट्रियल प्रोसेस्ड फुडतर्फ आकर्षण गरिरहेकोे छ ।

समग्रमा राम्रो र नराम्रोको उत्तर सजिलो छैन । खाध्य पोषणको भाषामा बजारबाट ल्याइएका तयारी खानेकुरा सुरक्षित छन् भने र उचित मात्रामा खाइयो भने राम्रो । नत्रभने यो प्रचलन नराम्रो भन्न सकिन्छ ।

प्रोसेस्ड फुडको गुणस्तरको बारेमा प्रस्न उठिरहेकोे छ । नेपालका मिडिया र उपोभोक्तावादीहरुले पनि यस विषयमा आलोचनात्मक टिका टिप्पणी गरिरहेका छन् । वास्तविकता के हो ?

प्रोसेस्ड फुड भन्ने बित्तिकै जंक फुड भन्ने पनि टिप्पणी गरिन्छ । अहिले उपोभोक्तावादी र डाक्टरहरु नै कन्फ्युजनमा रहेका छन् । जंक आफैंमा फुड नभएर ह्यााबिट हो । ब्यालेन्स डाइट भन्नाले कार्बोहाइड्रेड, वाटर, भिटामिन, मिनरल्स, फ्याट र प्रोटिनको सहि सम्मिश्रणलाई बुझ्नुपर्छ । हामीले उल्लेखित एउटा मात्र ग्रुपको तयारी फुड खायौं भने त्यो जंक फुड हुन्छ । यसले हाम्रो शरिरलाई सहि तरिकाले सन्तुलित भोजन गराउन सक्दैन । हामी नेपालीको बानी भनेको जे पाउँछौं त्यो पेटभरी खान्छौं । यदि बच्चाले चकलेट पायो भने पेटभरी चकलेट मात्र खाने, स्याउ पायो भने स्याउ मात्र खाने, अण्डा पायो भने अण्डा मात्र खाने र लेज वा कुरकुरे पायो भने त्यही मात्र खाने बानी छ । यसरी खाने ह्याबिट चाहिँ जंक ह्याबिट हो । हामी कसैले पनि यसरी खान हुन्न र खान सल्लाह पनि दिनु हँुदैन । हामीले हरेक दिन सन्तुलित भोजनमा ध्यान दिनुपर्छ । जे भेटियो त्यही खानाले पेट भर्नु नराम्रो बानी हो । यो कुरा सञ्चारकर्मी, उपभोक्तावादी तथा डाक्टरहरुले समेत बुझ्न सकेका छैनन् । यसर्थ प्रोसेस्ड फुड आफैंमा जंक फुड हुन सक्दैन तर हाम्रो सन्तुलित भोजनको कुनै एउटा ग्रुपको कम्पोनेन्ट हुन सक्छ । भोजन गर्दा उक्त ग्रुपसँग अन्य ग्रुपको सन्तुलन मिलाउन आवश्यक छ । मिलाएर खाएमा कुनैपनि ग्रुपको प्रोसेस्ड फुडलाई जंक ट्याग लगाउन मिल्दैन ।

बजारमा पाइने सबै प्रोसेस्ड फुड गुणस्तरीय र सुरक्षित छन् त ?

सबै प्रोसेस्ड फुड सुरक्षित छन् भन्न सकिँदैन । प्रोसेस्ड फुड सुरक्षित हुनलाई सामान्यतया फिजिकल, केमिकल र माइक्रोबायल कन्टामिनेन्ट हुन हुँदैन । सामान्य लोकल कम्पनी छ, कुनैपनि गुणस्तर चिन्ह लिएको छैन भने त्यस्ता कम्पनीले उत्पादन गरेको फुड सुरक्षित नहुन पनि सक्छन् । प्राय प्याकेट फुडहरु सुरक्षित र गुणस्तरीय नै हुन्छन् । तर यसमा स्ट्यान्डर लिएको वा नलिएको र म्याद गुज्रिएको छ कि छैन भन्ने कुरा लेवल हेरेर बुझ्नु पर्छ ।
सरकारले निर्धारण गरेको मापदण्ड अनुसार बनेका प्रोसेस्ड फुडहरु सुरक्षित हुन्छन् । दुधजन्य पदार्थहरुमा पास्चराइजेसन भएको छ कि छैन, फ्याट, एस.एन.एफ. लगायतका अन्य पदार्थहरु कति रहेका छन्, लेवलमै लेखिएको हुन्छ । खाद्य ऐन र गुणस्तर ऐनलाई आधार मानीे मापदण्ड निर्धारण गर्ने खाद्य तथा गुण नियन्त्रण विभाग र गुणस्तर विभाग रहेका छन् । उक्त विभागहरुले नियमन गरेर आएका प्रोसेस्ड फुडहरु सामान्यतया खान सुरक्षित हुन्छन् ।

लोकल उद्योगहरुले बनाएका खानेकुराहरु कहिलेकाहिँ स्ट्यान्डर्ड मिट गरेका नहुन सक्छन् । खाद्य सामाग्री उत्पादन गर्ने सामाग्रीहरुको सहि प्रयोग नगरिँदा केमिकल रियाक्सन हुन सक्छ । हाम्रो समाजमा अर्गानिक भनिएका वस्तुहरुमा पनि आवश्यक मापदण्ड नपुग्दा यस्ता खानेकुराहरु असुरक्षित हुन सक्छन् । प्राय मिठाईहरु फलामको भाँडामा बनाइएको हुन्छ । फलामको भाँडा खानेकुरा पकाउन उपयुक्त हुँदैन । यिनीहरुमा प्रोसेस स्ट्यान्डर्ड लागू नगरिएको हुन सक्छ । लोकल फुड निर्माण गर्नेहरुले पानी टेस्टिङलाई ध्यान दिएको हुँदैन । यस्ता उद्योगले गरेका उत्पादन उपभोग गर्दा रोगको भय रहन पनि सक्छ ।

तर ठूला उद्योगहरुले प्राय आवश्यक मापदण्ड पुर्याएका हुन्छन् । र प्राय सबै ठूला उद्योगहरुलाई गुणस्तर सम्बन्धी नियामक निकायहरुले नियमन गर्ने गर्दछन् । उपभोक्ताहरुले सामान किन्दाखेरी अन्तर्राष्ट्रिय अथवा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ कि छैन, उपभोग गर्ने मिति सकिएको छ कि छैन ? र उपभोग कसरी गर्ने हो लगायतका विषयमा ध्यान दिनुपर्छ । उक्त कुराहरु लेवलमा लेखिएको पाइएमा ती फुडहरु सामान्यतया सुरक्षित हुन्छन् ।

‘प्रोसेस फुड र जंक फुडको भिन्नताबारे सञ्चारकर्मी, उपभोक्तावादी तथा डाक्टरहरुलाई समेत जानकारी छैन’ भन्नुभयो । खासमा प्रोसेस फुड र जंक फुड बीचको भिन्नता के हुन् ?

प्रोसेस फुड खानै हुँदैन भन्ने होइन । उदाहरणका लागि नेपालमा मैदाजन्य खाने कुरा डिस्करेज गरिन्छ । रामदेवले पनि डिस्करेज गरेका थिए । विश्वभरी हेर्नुहुन्छ भने ६० प्रतिशत तयारी फुड मैदा र मैदाजन्य पदार्थबाट बनेको हुन्छ । विकसित देशका मानिसहरुले पनि प्रोसेस फुड खाइरहेका हुन्छन् । के उनीहरुले रिर्सच नगरिकनै, हितकर तथा अहितकर भन्ने जानकारी नलिइकनै खाइरहेका होलान् ? जे पायो त्यहि पेटभरी खाने बानी छोडेर सन्तुलित रुपमा प्रोसेस फुड खानु स्वास्थ्यका लागि लाभकर नै हुन्छ ।

यदि हामीले पोलेको मकै मात्र खायौं भने त्यो पनि जंक फुड हो । बिहान बेलुका भात मात्र खान्छौं भने त्यो पनि जंक फुड हो । हामीले के बुझ्नु पर्छ भने कार्बोहाइड्रेड, वाटर, भिटामिन, मिनरल्स, फ्याट र प्रोटिनको सहि सम्मिश्रण हाम्रो शरिरलाई हरेक दिन आवश्यक पर्दछ । कुनै पनि एक प्रोडक्ट ग्रुपले मात्र सम्पूर्ण डाइट प्लानलाई परिपूर्ति गर्न सक्दैन । यदि हामीले एउटा ग्रुपको मात्रै खाद्य पदार्थ खाएर भोक मेट्यौं भने त्यो फुड जंक हुन जान्छ र सबै ग्रुपबाट सन्तुलन गरेर खायौं भने त्यो फुड ब्यालेन्स्ड डाइट हुन जान्छ । ‘अल्पविद्या भइंकरी’ भनेझैँ उपभोक्तावादीहरुले कहिँ कतै इन्टरनेटमा केहि कुरा पढे वा कसैको लेख पढेर त्यसैलाई आधार मानी हल्ला धेरै गरे । समस्या यो हो ।

अहिले अभिभावकहरुलाई पनि कन्फ्युजन रहेको छ । यदि बच्चाले एक टाइम तयारी खाजा खान्छ भने उसको लागि अब अन्य किसिमका सन्तुलित भोजन खान दिनुपर्छ । यो बच्चाले यस्तो खाने कुरा खाँदा दाँतमा किरा लाग्छ भन्ने हल्ला पनि गलत हुन सक्छ । मुख्य कुरा हामीले डाइट प्लान बनाउँदा प्रोसेस्ड या अनप्रोसेस्ड जस्तो फुड लिएपनि सन्तुलित रुपमा माथि उल्लेखित ६ ओटै ग्रुपबाट प्लान गर्नुपर्छ । र यो चेतना सबैमा पुर्याउन आवश्यक छ ।

प्रोसेस फुड र जंक फुडको भिन्नता र यसको प्रयोगविधि वारे उत्पादकहरुले उपभोक्तालाई बुझाउने काम गरिरहेको देखिँदैन, किन ?

हामीले यसमा आवश्यक काम गरिरहेका छौं । अहिले चौधरी ग्रुपले बिलगेट्स फाउन्डेसनसँगको सहकार्यमा नेपालमा रहेको कुपोषणलाई व्यवस्थापन गर्न ‘टल नेपाल’ अभियान सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय प्याकेजिङमै व्यक्तिले प्रोसेस्ड फुड खाँदा कुन तत्व कति पाउँछ भन्ने कुरा लेखिएको हुन्छ । साथै उसको दैनिक पोषण सम्बन्धी आवश्यकता लेवलमा उल्लेख गरिएको हुन्छ । समयको मागसँगै उत्पादकहरु यो विषयमा आवश्यक गृहकार्य गरिरहेका छन् ।

‘फलामको भाँडामा पकाएको खाना असुरक्षित हुन्छ’ भन्नुभयो । तर मासको दाल फलामको भाँडामा पकाएर खायो भने आइरन पाइन्छ भन्ने परम्परा रहेको छ नि ?

फलाम प्राप्त गर्न हामीले फलाम नै खाने होइन तर फलामजन्य सल्ट खाने हो । फलामको भाँडामा पकाउँदा आवश्यक फलामजन्य सल्ट उपभोक्ताले पाउँदैन । पकाउँदा फलामको भाँडामा भएको फलाम सिधै सल्टमा परिवर्तन हुँदैन । विशेषगरी फलामको खिया खानै नहुने कुरा हो । यसले रक्तनली, किड्नी र फोक्सोमा समेत असर गर्न सक्छ । तर फलाम मिसिएको किटको कराईमा पकाएको खाना भने सुरक्षित र लाभदायक हुन्छ । खाद्य प्रशोधनको दृष्टिकोणले फुड ग्रेड स्टेनलेस स्टिलमा पकाइएका खानेकुराहरु सुरक्षित र लाभदायक हुन्छन् ।

प्रोसेस्ड फुड बिक्री गर्ने सुपरमार्केटहरुमा विदेशी फुडको अनुपातमा नेपाली फुड निक्कै कम रहेको पाइन्छ । नेपाली ग्राहकले विदेशी फुडनै किन रोज्छन् ? के नेपाली प्रोसेस फुडप्रति उपभोक्ता विश्वस्त हुन नसकेको हो ?

मानिसहरुमा विदेशी कम्पनी भनेपछि ठूलो कम्पनी होला, उनीहरुको स्ट्यान्डर्ड माथिनै होला भन्ने सोचाइ छ । यदि उनीहरुले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डलाई आधार मानी निर्धारण गरिएको छ भने त्यसमा केहि सत्यता होला । तर केहि विदेशी सामाग्रीहरु नेपाली लोकल प्रोडक्टभन्दा पनि कम गुणस्तरका हुन सक्छन् । विशेषगरी चीन र भारतबाट आउने केहि समाग्रीहरु कम गुणस्तरकै पनि पाइएका छन् । म उपभोक्ताहरुलाई के आग्रह गर्न चाहन्छु भने मल्टिनेशनल कम्पनी छ भने त्यसको लोगो रहेको हुन्छ, अन्तर्राट्रिय मापदण्डको लेवल तथा स्ट्याण्डर्ड हेरेर मात्र त्यसको प्रयोग गर्नु राम्रो हुन्छ । प्याकेजिङ राम्रो छ भन्दैमा हामीले किनेर खाइहाल्नु हुँदैन ।

स्वदेशी कम्पनीहरुको कुरा गर्दा नेपाली बजारमा वाइवाइले सबै विदेशी चाउचाउहरुलाई विस्थापित गरेको छ । यहाँ म्यागी लगायत अन्य विदेशी चाउचाउहरु आए तर यिनीहरु टिक्न सकेनन् । नेपाली उपभोक्ताहरुले नेपाली चाउचाउलाईनै प्राथमिकता दिएका छन् । नेपाली उद्यमीहरुले पनि अन्तर्राष्ट्रिय बजारमासमेत जाने गरी सामाग्रीको उत्पादन गर्न थालेका छन् । यसर्थ स्वदेशी भन्ने वित्तिकै नराम्रो र विदेशी भन्ने वित्तिकै राम्रो भन्ने सोच गलत हो । उपभोक्ताहरुले कम्पनी, लेवल, उपभोग्य मिति, स्ट्याण्डर्ड जस्ता कुराहरु ध्यान दिएर उपभोग्य वस्तुहरुको खरिद गर्नुपर्छ । विदेशी भन्ने वित्तिकै हामफाल्नु हुँदैन ।

विदेशी कम्पनीका उत्पादनले नेपालमा उत्पादित प्रोसेस फुडहरुलाई कस्तो असर पारिरहेका छन् ?

नेपालमा निजी क्षेत्रका कम्पनीहरुले विदेशी कम्पनीहरुको तुलनामा नाफा घाटाको हिसाबले ठूलो क्षेत्र ओगटेको छैन । यसका २ वटा कारण रहेका छन् । एउटा लगानीकर्ता र अर्को सरकार । पहिले नेपालमा उत्पादन भएको वनस्पति घ्यूमा भारतको निश्चित कोटा थियो । अहिले त्यो नियम भारतले खारेज गरिसक्यो । यसपछि वनस्पती घ्यूको उद्योगहरु बन्द भैसकेका छन् ।

सरकारले आयात र निर्यातको कर प्रणालीमा समानता ल्याउन सकेकोे छैन । केहि वर्ष अघि नेपाली बिस्कुटलाई एमआरपीको मुल्यांकन अनुसार कर तिर्नुपर्ने र भारतबाट आयत गरिएको बिस्कुट किलोको ४० रुपैंया कर तिर्नुपर्ने नियम थियो । यसले गर्दा भारतमा बनेको बिस्कुट भन्दा नेपालमा बनेको बिस्कुट सस्तो पर्न जान्थ्यो । धेरै पहल गरेपछि अहिले भारतमा बनेका बिस्कुटहरुको मूल्यांकन बढेको छ ।

अर्को पाटो भनेको अहिले नेपालमा उद्योगीहरुले उद्योगको लागि जग्गा किन्नसक्ने अवस्था रहेको छैन । उद्योग सञ्चालनको लागि कम्तीमा २/४ बिघा जग्गा चाहिन्छ । हालको जग्गाको मूल्य हेर्दा कुनै पनि उद्योगीले जग्गा खरिद गरेर कम्पनी खोल्न सक्ने अवस्था रहेको छैन । यस हिसाबले उत्पादित वस्तुमाथि कम्पनीले थप मूल्य बढाउनु पर्ने बाध्यता हुन्छ । यसरी नेपाली वस्तुको मूल्यभन्दा विदेशी वस्तुको मूल्य सस्तो हुँदा नेपाली कम्पनीलाई मुनाफा आर्जन तथा बजार व्यवस्थापन गर्न अप्ठ्यारो परेको छ ।

सरकारले उद्योगीहरुलाई जग्गा र करको दायरामा सहुलियतको व्यावस्था मिलाउनु पर्छ । भारतका धेरै प्रान्तहरुमा नयाँ उद्योगीहरुलाई १० वर्षसम्मको मुनाफामा छुट गरिएको छ । सय वर्षको लागि जग्गा भाडामा दिने व्यवस्था पनि छ । यी सुविधाहरु नेपालमा पनि आवश्यक छन् । सरकारले यस्ता कुराहरुमा ध्यान दिनु पर्यो। यो काम गर्न सकेको खण्डमा उत्पादन क्षेत्रको योगदान हाम्रो कूल ग्राहस्थ उत्पादनको १४/१५ प्रतिशत अंकमा पर्याउन सकिन्छ ।

यता उद्योगीहरुले पनि उद्योगमा लगानी गर्दा मल्टिनेशनल कम्पनीहरुको स्ट्याण्डर्ड अनुसार उत्पादन गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरको टेक्नोलोजीको प्रयोग गर्नुपर्छ । नेपाली उद्योगीहरुमा नयाँ टेक्नोलोजीको अनुभवको कमी रहेको छ । नेपालमा प्राय भारतका युज्ड कम्पनीहरुको प्लान्ट र प्रविधि रहेका छन् । यसलाई विस्तारै प्रतिस्थापन गर्दै नयाँ टेक्नोलोजीको विकास गर्नुपर्दछ ।

नेपालका प्रोसेस्ड फुड उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ नेपालमा कत्तिको पाइन्छ ?

नेपाली उत्पादन क्षेत्रको कच्चा पदार्थ र विदेशी मुलको कच्चा पदार्थको अनुपात करिब ५०/५० प्रतिशत नै रहेको छ । ५० प्रतिशत कच्चा पदार्थ भारतीय बाटो हुँदै नेपाल भित्रिन्छन् । आयात गरिएका कच्चा पदार्थहरु लगभग प्रतिस्पर्धी नै हुन्छन् । सबै कुरा हेर्दा नेपाली उद्योगहरुमा चाहिने कच्चा पदार्थहरुमा स्वदेशी उत्पादक हरुको गुणस्तर तथा प्रतिस्पर्धात्मकतामा तत्कालै सुधार गर्नुपर्ने आवश्यकता छ । सर्सर्ती हेर्दा करिब १० प्रतिशत कम्पनीहरुको अवस्था राम्रो रहेको छ भने करिब ९० प्रतिशत कम्पनीहरु कुनै न कुनै हिसाबले सन्तोषजनक अवस्थामा छैनन् । त्यसैले यी उद्योगहरु आफ्नो क्षमतामा परिमार्जित हुँदै जानुपर्छ र यो सेक्टरलाई सरकारले विशेष सुविधा र सहुलियत प्रदान गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.