सत्यको हत्या र भ्रमको खेती, रक्सि पियर ख्याति पाईन्छ ?

  २०७४ माघ २३ गते ८:३६     देवेन्द्र प्रताप शाह


मेरो मनमा पलाएको एउटा जिज्ञासा यहाँ प्रस्तुत गर्न मन लाग्यो ।

कडा दुःख र परिश्रम गरेर माथि पुगेका, मेहेनतकै भरले उचाइ चुमेका, कठोर समस्यासँग जुधेर बिशिष्टता हासिल गरेका, आफुले पीडा सहेर अन्यलाई मदत गरेका मान्छेका कथाहरु दूर्लभ बस्तु भएका छन् हाम्रो देशमा । कुनै ब्यापारी वा लेखक वा कवि, संगितकार वा गायक, कलाकार वा फिल्म निर्देशक वा निर्माता, खेलाडी वा प्रशिक्षक, कुनै प्राबिधिक वा आविष्कारक, बगैचे वा कुनै पसले वा अन्य कुनै क्षेत्रमा लागेका मानिसले आफ्नो प्रगति र उत्थानको लागि गरेको दुःख,वेदना,कष्ट वा मेहेनतको कथा खासै सुन्न पाइदैन यहाँ । यस्तोमा कलम चलाउनेहरुको पनि खडेरी नै छ । मलाई लाग्छ, यो बिडम्बनापूर्ण अवस्था हो, देश उँभो लाग्ने संकेत हैन ।

अन्य देशमा यस्ता सफलताको नेपथ्यका कथाहरु वा आत्मकथाहरु प्रसस्तै पढ्न पाइन्छ जसले मान्छेमा परिश्रम गरेर कहीँ पुगी छाड्ने जाँगर र हिम्मत पलाउँछ । अन्यलाई सहयोग गर्ने प्रेरणा दिन्छ । नेपालका अन्य पेशा वा क्षेत्रको भन्दा राजनीतिक नेताहरुको हकमा चाहिँ खुब लेखिएका छन् – जेल परेको र त्यहाँ पाइएको दुःखहरु, पुलिसले पिटेका घटनाहरु । तर नेताहरुको त्यस्तो दावि हालको नेपालको अवस्थामा धेरै हदसम्म अप्रासंगिक भइसके, म्याद नाघेको औषधि जस्तै । नयाँ पुस्ताका युवाहरु अब जेल बसेर आफ्नो जीवन छोट्याउने वा निष्कृय पार्ने बारेमा सोच्न सक्दैननन्, जेल बसिसकेकाहरु प्रति नतमष्तक पनि देखिदैनन् । बरु जेल बसेर समय काट्नेहरु प्रति नकारात्मक धारणा राख्लान् । द्रुत गतिमा परिवर्तन भइरहेको यस संसारले देखेका नयाँ नयाँ आबिस्कारसँग आफ्नो सम्बन्ध गाँस्न उत्सुक नयाँ पुस्ता अब जेलमा बिना अर्थको दुःखको कथा सुन्न चाहदैनन् । मेरो आंकलन हो यो । नेताहरुले यसलाई आफ्नो गौरवपुर्ण गाथाको रुपमा बेच्ने काम नगर्दा राम्रो हुन्छ । तर यहाँको अहिलेको चर्चा गैर-राजनीतिक हो ।

गएको शनिवार माघ २० गते मात्र कथाकार मनु ब्राजाकीको निधनको खबर आयो । उहाँको परिवार प्रति हार्दिक सम्बेदना अर्पण गर्छु । निधनको खबर सँगै राजधानीबाट प्रकाशित दैनिक अखबारहरुमा मनुजीको बारेमा धेरैले कलम चलाए । लेख्नमा ‘उहाँ राम्रो कथाकार हुनुहुन्थ्यो, बेजोडको कथा लेख्नुहुन्थ्यो’ भनिएको छ । तर राम्रो कथाकार बन्नको लागि मनुजीले कति र कस्तो मेहेनत गर्नु भो, कति अनुसन्धान गर्नु भो, कथा लेख्ने क्रममा कहाँ कहाँ पुगेर तथ्याङ्कहरु संकलन गर्नु भो, कति दुःख झेल्नु भो, कति ह्युमिलेसन सहनु भो, कतिले गरेको हेँलालाई पचाउनु भो, कतै पनि पढ्न पाइएको छैन । यसको सट्टामा बरु ‘उनी खुब रक्सी पिउँथे, मसँग पैसा मागिरहन्थे, मलाई भेट्न घरमा आइराख्थे, भट्टिमा हाम्रो भेट हुन्थ्यो’ भन्ने नितान्त वैयक्तिक बखानको ब्याख्या गर्ने वाक्यांसहरु खुबै पढ्न पर्‍यो। सार्वजनिक उपभोगका दृष्टिले सर्बथा अनाबश्यक र अनुपयुक्त वाक्यहरु जोडेर लेखको रुप दिइन्छ जसमा मेहेनतको अंश कम, लेखक हुने आकांक्षा बढी प्रतिबिम्बित हुन्छ । त्यस्ता लेखमा केही हदसम्म रुपलाई ध्यान दिइएको हुन सक्ला, तर सार भने शुन्य प्रायः हुन्छ ।

यसै गरी माघ २१ गते आइतबारको साप्ताहिक ‘नेपाल’ को अंकमा भूपी शेरचनको बारेमा एक संस्मरणत्मक लेख प्रकाशित भएको छ । यस लेखमा नेपालका सर्बाधिक लोकप्रिय कवि बन्नको लागि भूपी शेरचनले गर्नु भएको दुःखको बारेमा उल्लेख छैन, रक्सी खाने उहाँको बानीको खुबै चर्चा छ । संस्मरणमा ‘पिउन थालेपछि भूपी बेहिसाब पिउथेँ’, ‘कोही मानिस अगाडि नहुँदा पनि भूपीले एक दिन नयाँ सडकमा गाडिको हर्न बजाएको बजायै गरे’ भनिएको छ । कुनै दुःखै नगरी, मेहेनतै नगरी भूपीका कविताहरु हिट भएका होलान् त ?

नाम कमाउने काम सजिलो त पक्कै छैन । लामो समयसम्मको निरन्तर कठोर मेहेनतबाट मात्र नाम कमाइन सम्भव हुन्छ, यो सबैको हकमा लागु हुन्छ । मेहेनत बिना नाम कमाइन्छ भने त्यसलाई अनर्थ मान्नु पर्छ । मानव जीवनका यावत पक्षमा दुःख र मेहेनतका साथ हासिल भएका सफलताका कथाहरु जुन सुकै समाजमा पनि पछिल्लो पुस्ताको लागि प्रेरणाको श्रोत बन्छन् । कलिला बाल बच्चाले कुन नेपालीको जीवन भोगाइ र विताइलाई हेरेर वा पढेर आफ्नो लक्ष निर्धारण गर्ने ? हाम्रा छोरा छोरीहरुको रोल मोडेल हुन सक्ने व्यक्तित्व के हाम्रो देशमा हुँदै नभएको हो ?

के त हाम्रो नेपालमा कुनै दुःख वा मेहेनतै नगरी नाम कमाइन्छ ? प्रेसले उछालेकै भरमा कोही तलबाट एक्कासी माथि पुग्छ ? कि ती नाम कमाउनेहरुले गरेको दुःख र मेहेनतको बारेमा हामीले ध्यान नदिएको हो ? कुन सत्य हो, कृपया भनिदिनुस न साथी हो, म अलि अलमलमा परेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.