मुद्रास्फीतिमा चापः सबैभन्दा बढी मूल्य हिमालमा र कम पहाडमा

  २०७४ माघ ४ गते १२:५५     विकासन्युज

काठमाडौं। गएको पाँच महिनाको अबधिमा उपभोक्ता मुद्रास्फीतिमा चाप परेको छ । हालसालै पेट्रोलियमपदार्थ र निर्माण समाग्रीको मूल्यमा भएको वृद्धिले अझै मुद्रास्फीतिमा थप दबाब पर्ने जोखिम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक अनुसार गएको पाँच महिनामा हिमाली क्षेत्रमा उच्च मूल्य वृद्धि भएको छ । उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्ष सोही अबधिमा ३.७ प्रतिशत मात्र रहेको थियो । हिमाली क्षेत्रको चन्दननाथ बजार केन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा सो क्षेत्रको मूल्य बढेको बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा बताएको हो ।

त्यस्तै पाँच महिनाको समिक्षा अबधिमा पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत मुद्रास्फीति पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको थियो । त्यसलाई आधार मान्ने हो भने पहाडी क्षेत्रको मूल्य बृद्धि गएको वर्षभन्दा कम देखिन्छ ।

बढ्यो उपभोक्ता मूल्य

गएको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा यो मंसिरमा बढेर ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही मात्रामा बढ्नुमा खाद्य तथा पेय पदार्थ समुहको प्रमुख भूमिका रहेको बैंकले जनाएको छ ।

बढ्यो खाद्यमा मूल्य

बैंकको समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.८ प्रतिशत पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा उक्त खाद्य मुद्रास्फीति ०.६ प्रतिशत मात्र रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा वृद्धि भएले समग्र खाद्य मुद्रास्फीति बढने गएको बैंकको भनाइ छ ।

गैर–खाद्यमा मूल्य भने घट्यो

बैंक अनुसार अहिले गैर–खाद्यमा मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण लगायत वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम भएकोले गैर–खाद्य मुद्रास्फीति कम भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.