फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ६५ प्रतिशत लाभांशले लगानीकर्ता लोभिए, आइतबार सबैभन्दा बढी कारोबार

  २०७४ पुष ३० गते १५:३३     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता लोभिएका छन् । लाभांश सार्वजनिक भएपछि आईतबार नेपाल स्टक एक्चेन्ज लिमिटेडमा फरवार्डको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।

अघिल्लो साता संस्थाले गत आर्थिक वर्षमा गरको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता झुम्मिएका हुन् । फरवार्डले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

आइतबार फरवार्डको प्रतिकित्ता ३ हजार ३८१ रुपैयाँमा १ करोड ९३ लाख ८५ हजार रुपैयाँ बराबर ५ हजार ६३८ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ता लोभिए पनि फरवार्डको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ घटेको छ । बिहीबार फरवार्डको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५०४ रुपैयाँ थियो । चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको संस्थाको बोनस सेयर वितरणपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र साधारण सेयर (आइपीओ) निष्कासन गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । फरवार्डको संचित कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ । संस्थाको सेयर मूल्य धेरै भएकाले बोनस पाउने लोभमा सेयर खरिद गर्नु पछिका लागि फाइदा नहुने संभावना त्यत्तिकै छ । केही महिना अघिसम्म फरवार्डको सेयर मूल्य प्रतिकित्ता ४ हजार रुपैयाँ थियो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर १ हजार ७८६ रुपैयाँमा १ करोड ५२ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो साता प्रतिकित्ता १ हजार ८८९ रुपैयाँसम्म पुगेको नेपाल लाइफको सेयर मूल्य घटेको छ । पछिल्लो समयमा नेपाल लाइफका लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ गुमाएका छन् ।

बढी लाभांश दिने हल्ला चलेपछि नेपाल लाइफको सेयर कारोबार बढी हुदै आएको छ । सानिमामाई हाइड्रोपावर लिमिटेडले थप आयोजना बनाउन लगानी बढाउने भएपछि यसको पनि कारोबार धेरै भएको छ । आइतबार सानिमाको प्रतिकित्ता ४५१ रुपैयाँमा १ करोड ४२ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.