आजदेखि १५ औं हस्तकला व्यापार मेला सुरु,राष्ट्रपतिले गरिन् मेलाको उद्घाटन

  २०७४ मंसिर १ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपालमा उत्पादन भएका हस्तकलाबाट निर्मित वस्तुहरुको बिक्री तथा प्रवर्धन गर्ने उद्येश्यसहित आजेदेखि मेला सुरु भएको हो ।

मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । दिउसो २ बजे मेला उद्घाटन गर्न पुगेकी राष्ट्रपतिले सबै स्टलको अवलोकन गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिएकी छिन् । उनले भनिन्, ‘हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।’
राष्ट्रपति भण्डारीले परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा पुस्तालाई यससम्बन्धी आकर्षण गर्न आवश्यक रहेकामा जोड दिँदै नेपाली हस्तकलाका सीप र कलाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको बताइन् । सो अवसरमा उनले उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गरेकी छिन्।

आयोजकका अनुसार काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र वाँसका सामानहरुसाथै जडिवुटी, अर्थोडक्स चिया लगायतका वस्तु प्रदर्शनीमा राखिएका छन् । मेलामा २ सय ५० भन्दाबढी प्रदर्शकहरुले सहभागीता जनाएका छन् ।

महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले भने, ‘मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान गरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा छ ।’
व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० निर्धारण गरिएको छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था र वृद्धवृद्धालाई निशुल्क गरिएको महासंघले जनाएको छ । १० हजार मान्छेको लागि टिकट फ्रिको व्यवस्था गरिएको बताइएको छ ।
व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं विकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र विक्रेता र्फम कम्पनीहरुबीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (विटूबी) आयोजना गरिने भएको छ ।

यसै गरि मेलाको दोस्रो दिन अर्थात मंसिर २ गते अन्नपूर्ण होटलमा पनि विदेशबाट आएका क्रेताहरु र मेलामा सहभागी लगायत महासंघका निकासीकर्ता सदस्य बिक्रेताहरु बीच भेला गराई क्रेता बिक्रेता भेला गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.