नेसनल ट्रेडिङका अवकाशप्राप्त कर्मचारीले दिए अख्तियारमा उजुरी

  २०७४ कार्तिक २९ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङ लिमिटेडमा ९ जना कर्मचारीलाई मात्र ग्रेड थप गरी स्वेच्छिक अवकाश दिएको भन्दै केही कर्मचारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अख्तियारले मन्त्रालयसँग स्पष्टिकरण माग गरेको छ ।

स्वेच्छिक अवकास दिईएका कर्मचारीमध्ये ना.अ.व. गिता निरौला लगायत ९ जना कर्मचारीलाई मात्र २ ग्रेड थप गरी स्वेच्छिक अवकास दिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले के आधारमा ग्रेड थप गरेको ? भन्दै स्पष्टिकरण सोधेको छ । त्यस्तै स्वेच्छिक अवकासपछि पनि ३६ जना कर्मचारी करारमा लिएको उजुरीमा उल्लेख छ ।

त्यस्तै गयल हाजिर गरी अन्तै निकायमा काम गरी रहेका ना.अ.व. कमल रेग्मीलाई कार्यालयमा हाजिर गराई २३० दिन गयल कट्टी सहित ९६१ दिन सेवा अवधिमा घटाई स्वेच्छिक अवकास दिइएको उजुरीमा उल्लेख छ ।

उल्लेखित उजुरी सम्बन्धित स्पष्टिकरण सहित पेश गर्न मन्त्रालयलाई अख्तियारले पत्राचार गरेको छ । नेसनल ट्रेडिङले गत असारमा आफ्ना कर्मचारीहरूलाई बिदावारी गरेको थियो । घाटा चुलिएपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनि बढ्दै गएको थियो ।

नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ छ । घाटाका कारण कर्मचारीहरूले ५ महिनादेखि तलब पाएका थिएनन् । उपदान र सञ्चय कोष करिब ४ वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ । अवकाशका दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री गरिसकेको छ ।

तलब सुविधा नपाएपछि गत वर्ष चैत ११ गते बसेको साधारणसभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो । सोहीअनुसार १८ गते मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको थियो । अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेसनलको जग्गा आयल निगमले किनेको छ ।

हाल नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.