बामपन्थी घोषणा-७० प्रतिशत विद्यार्थीले प्राबिधिक बिषय पढ्नै पर्ने

  २०७४ कार्तिक १९ गते १३:२१     विकासन्युज

काठमाडौं । बामपन्थी गठबन्धनले आगामी २ बर्षभित्रै ७० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा प्राबिधिक बिषय अध्ययन गर्नै पर्ने घोषणा गरेका छन् ।
एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्रमा ७० प्रतिशत व्यवसायिक तथा प्राबिधिक ३० प्रतिशत गैर व्यवसायिक शिक्षा प्रदान गर्ने उल्लेख गरेका हुन् ।

‘आफ्नै अनुभवहरुको समिक्षा गर्दै र संसारभरिका नमुना शिक्षा प्रणालीहरुको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्माणका लागि आगामी २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गरिनेछ । गैरप्राबिधिक बिषयमा ३० प्रतिशत र व्यवसायिक तथा प्राबिधिक बिषयमा ७० प्रतिशत जनशक्ति विकास गर्ने गरि शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरुप साधन श्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिनेछ’, बामपन्थी घोषणा पत्रमा लेखिएको छ ।

अब बामपन्थीहरुको सरकार गठन भएको २ बर्षपछि अध्ययन गर्नेमध्ये ७० प्रतिशत विद्यार्थीले व्यवसायीक तथा प्राबिधिक शिक्षा लिनै पर्नेछ । ३० प्रतिशत विद्यार्थीले मात्रै प्राबिधिक बिषय अध्ययन गर्न पाउनेछन् । नेपालमा मानविकी, शिक्षा लगायतका संकायलाई गैर प्राबिधिक मानिन्छ ।
बामपन्थी गठबन्धनले तयार पारेको घोषणा पत्रमा राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत बजेट शिक्षामा अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने पनि उल्लेख छ ।

त्यस्तै, गुरुकुल, बिहार, गुम्बा, मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने दावी गरिएको छ । २ बर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने र पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने अठोट पनि घोषणा पत्रले कसेको छ । बामपन्थीहरुले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त गराउने तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउने पनि बताएका छन् । त्यस बाहेक दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासिय शिक्षाको व्यवस्था गर्ने, कक्षा ३ सम्मको शिक्षा मातृ भाषामा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.