हुलाकी राजमार्ग निर्माणमा ढिलाइ

  २०७४ असोज २६ गते १७:१३     विकासन्युज

धनगढी । सडक निर्माण गर्न रेखाङ्कन गरिएको क्षेत्रमा रूख कटानीका लागि अनुमति नदिँदा कैलाली जिल्लामा निमार्णाधीन हुलाकी राजमार्गको वसन्ता खण्डमा लामो समयदेखि अघि बढ्न सकेको छैन । वसन्ता वन क्षेत्रको करिब दुई किलोमिटर लामो भागमा रूख काटेर सडक निर्माण गर्नुपर्नेमा समयमै रूख कटानीको अनुमति नआएका कारण उक्त खण्डको हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरन्त मण्डलले बताए ।

सो क्षेत्रमा करिब एक हजारवटा रूख काट्नुपर्ने देखिएको छ । रूख कटानसम्बन्धी फाइल वन विभागवाट मन्त्रालयमा पुगेको बताइए पनि अहिलेसम्म कटान आदेश नआएकाले काम रोकिएको उनको गुनासो थियो ।

यता धनगढी बजार क्षेत्रको क्याम्पस चोकबाट ८ र २ नं वडा हुँदै मोहना नदीको पुलसम्म छ किलोमिटर लामो हुलाकी राजमार्ग निर्माण हुने भएको छ । धनगढीको कुन क्षेत्र भएर राजमार्ग निर्माण गर्ने भन्ने विषयलाई लिएर लामो समयदेखि सहमति हुन नसक्दा निर्माणमा ढिलाइ भएको थियो । प्रविधिक टोलीले ८ र २ नं वडा हुँदै राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन दिएपछि यो खण्डमा अब निर्माण कार्य शुरु हुन लागेको हो ।

उता कञ्चनपुर जिल्लाको बेलडांडी-दैजी खण्डको करिब १० किलोमिटर लामो भागमा पनि राजमार्ग निर्माणको काम अवरुद्ध भएको छ । शुक्लाफाँटा आरक्ष क्षेत्रभित्र पर्ने यो भागमा सर्भेक्षणको काम समेत हुन नदिइएपछि काम रोकिएको मण्डलले बताए । कञ्चनपुर जिल्लामा डोके बजारदेखि बेलौरी, बेलौरीदेखि बेलडाँडी र बेलडाँडीदेखि दैजीसम्म गरी तीन चरणमा हुलाकी राजमार्ग निर्माण गर्न लागिएको छ । डोके बजारदेखि बेलौरी हुँदै बेलडाँडीसम्मको काम भने सञ्चालन छ । कञ्चनपुरको डोके बजारदेखि हुलाकी राजमार्गको अन्तिम बिन्दु दैजीसम्म ६२ किमी लामो हुलाकी राजमार्ग निर्माण गर्ने लक्ष्य छ ।

कैलाली जिल्लाको हुलाकी राजमार्ग खण्ड भारत सरकारको करिब रु एक अर्ब २६ करोडको अनुदान सहयोगमा निर्माण शुरु गरिएको हो । कैलाली जिल्लाको लम्कीदेखि खक्रौलासम्मको (उत्तर दक्षिण) झण्डै २७ किलोमिटर र धनगढीको क्याम्पस चोकदेखि भजनी हुँदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किलोमिटर सडकमध्ये वसन्ता जंगल क्षेत्रमा निर्माण हुने सडकबाहेक बाँकी भागमा हुलाकी सडक निर्माण पूरा भएको छ । निर्माण हुन बाँकी हुलाकी सडक निर्माणको काम नेपाल सरकार आफैँले गर्न लागेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.