अमेरिकाले दिएको सहुलियत नेपालले उपयोग गर्न सकेन, १२ प्रतिशतले घट्यो निर्यात

  २०७४ असोज २४ गते २०:१७     विकासन्युज

काठमाडौं । अमेरिकाले नेपाललाई दिएको व्यापार सुविधासम्बन्धी व्यवस्था (जिएसपी) अन्तर्गत भन्सार छुटमा परेका वस्तुहरुको निर्यात उल्लेख्य मात्रामा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा अमेरिकाले ६६ वस्तुमा दिएको भन्सार छुटको सदुपयोग गर्न नसक्दा ती वस्तुहरुको निर्यात १२ प्रतिशतले घटेको छ ।

व्यापार तथा निकासी केन्द्रको तथ्यांक अनुसार नेपालले अमेरिकाले दिएको व्यापार सुविधासम्बन्धी व्यवस्था अन्तर्गतको ६६ वस्तु मध्ये ७४ लाख अमेरिकी डलर (करिब ७७ करोड रुपैयाँ) मूल्य बराबरको वस्तु निर्यात गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा ६६ वस्तु मध्ये नेपालले ८४ लाख अमेरिकी डलर (करिब ८७ करोड रुपैयाँ) मूल्य बराबरको वस्तु निर्यात गरेको थियो ।

सन् २०१६ मा सबैभन्दा बढी कार्पेट, टेक्सटाइल, बुनेको कपडा र पशु खाद्यान्न रहेको तथ्यांकले देखाएको छ । ४ करोड ३० लाख डलर मूल्य बराबरको गलैचा र ८० लाख डलरको बुनेका कपडा निर्यात भएको छ । त्यस्तै ४० लाख डलरको पशु खाद्यान्न निर्यात भएको छ । झन्डै ६० लाख अमेरिकी डलर बराबरको कृषि सम्बन्धी उत्पादन निर्यात गरेको छ ।

समान जनसंख्या र अन्य एउटै क्षेत्रका मुलुकहरुको तुलनामा अमेरिकासँग नेपालको निर्यात निकै कमजोर रहेको नेपालका लागि अमेरिकी राजदुत अलाइना बि टेप्लिजले बताइन् । सन् २०१६मा नेपाल अमेरिकाको व्यापार साझेदार मूलुकहरुमध्ये १५७ औं स्थानमा परेको उनले जानकारी दिइन् । नेपाल अमेरिकाबीच करिब १२ करोड ९० लाख अमेरिकी डलर बराबरको व्यापार साझेदारी रहेको छ ।

उज्बेकिस्तान, घाना, पेरु तथा मलेसिया जस्ता समान जनसंख्या भएका मुलुकहरुले अमेरिकामा नेपाल भन्दा चार सय गुणा बढी भन्दा बढी निर्यात गरिरहेको उनले जानकारी दिइन् । अमेरिकाले प्रदान गरेको जिएसपी सुविधालाई सक्दो सदुपयोग गर्न उनले सुझाव दिएकी छिन् ।

व्यवसायीले बजारीकरण सम्बन्धी ज्ञान र पहुँचको अभाव, अनुसन्धानको कमी, गुणस्तर, कच्चा पदार्थ तथा ऋणको व्यवस्था, ब्राण्डिङ लगायतका चुनौतीका कारण निर्यातको घटेको बताएका छन् ।अमेरिकी बजारको माग र पूर्तिलाई अध्ययन गरेर मात्रै निकासी प्रवर्धन गर्न सकिने प्याभिलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले बताए ।

अमेरिकाका उपभोक्ताको रोजाईं अनुसारको वस्तुमा लगानी नगर्दा जिएसपीको फाइदा लिन नसकेको श्रेष्ठले बताए । उनले भने, ’हामीले अमेरिकाका उपभोक्ताले कस्तो वस्तु रुचाउछन् भन्नेबारे अध्ययन नै गरेका छैनौं । यो नै हाम्रो ठुलो कमजोरी हो ।’

श्रेष्ठले फाइदा नहुने वस्तुमा व्यवसायीले लगानी गरेको हुँदा नेपालको निर्यातमा सुधार नभएको बताए । उनले भने, ’तयारी पोशाकमा हामीले किन जोड दिइरहेका छौं ? हामीले कच्चा पदार्थ, मेशिनदेखि कालिगढसम्म भारतबाट ल्याएर फेरी बाहिर बेच्ने हो भने हामीलाई फाइदा हुदैन । त्यसैले भएको स्रोत साधनलाई बढावा दिएर निर्यात प्रवर्धन गर्नुपर्छ ।’

निर्यातको सम्भावना बोकेका १९ वस्तुको सुची तयार

सरकारले अमेरिकाबाट जिएसपी पाएका ६६ वस्तुमध्ये निर्यातका बढी सम्भावना भएका वस्तुको सूची तयार पारेको छ । १९ वस्तुमध्ये झोला, सुटकेस, ह्याण्डब्याग, लगेज, सिडी क्यासेट, टेक्सटायल लगायतका सामान परेका छन् ।

ती सम्भावित वस्तुको निर्यातमा सामन्यतया १५ प्रतिशतभन्दा बढि अति शौविध्य प्राप्त (एमएफएन) शुल्क लगाइन्छ । तर नेपालले ६६ वस्तुमा छुट पाएपछि एमएफएन शुल्क नलाग्ने वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । ’हामीले २० प्रतिशतसम्म एमएफएन शुल्क लाग्ने वस्तुमा छुट पाएका छौं,’ उनले भने, ’नेपालले यी १९ वस्तु निर्यातमा जोड दिने हो भने नेपालले अमेरिकासँग समान वस्तुमा अरुसँग सजिलै प्रतिस्पर्धा गर्नसक्छ । त्यसैले ती वस्तुलाई सूचिकृत गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.