समितिलाई अटेर गर्दै बिमकहरू, बिमकहरूले तोकिएको समयमा बुझाएनन् कार्ययोजना

  २०७४ साउन ३ गते ९:०९     विकासन्युज

काठमाडौं । नियामक निकायको निर्देशनलाई अटेर गर्दै अधिकांश बिमा कम्पनीहरूले तोकिएको समयमा गुज्रिसक्दा पनि पुँजी वृद्धि योजना बुझाएका छैनन् ।

गत चैत १८ मा बिमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले तीन महिनाभित्रमा पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो । तर, असार मसान्तसम्ममा जम्मा १२ वटा कम्पनीले मात्रै पुँजी वृद्धि योजना बुझाएका छन् ।

समितिले निर्देशिका जारी गर्दै कम्पनीहरूलाई २०७५ असार मसान्तसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले २ अर्ब रूपैयाँ र निर्जीवन बिमा कम्पनीले १ अर्ब रूपैयाँ पुँजी पु(याउनु पर्नेछ ।

निर्देशिकाअनुसार सञ्चालनमा रहेका बिमकले निर्देशिका लागू भएको तीन महिनाभित्रमा चुक्ता पुँजी कायम गर्ने कार्य योजना समितिमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ । तर, नौवटा निर्जीवन र तीनवटा जीवन बिमा कम्पनीले मात्रै समितिमा योजना बुझाएका छन् । पुँजी बढाउन बाँकी रहेका अन्य १३ वटा कम्पनीले भने समितिका योजना पेश गरेका छैनन् ।

समितिमा जीवन बिमा कम्पनी अन्र्तगत गुराँस, एसियन र सूर्या लाइफ इन्स्योरेन्सले कार्ययोजना बुझाइसकेका छन् । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ साल देखिको वित्तीय विवरण स्वीकृत भएपछि कम्पनीको नाफा र सेयरधनी कोष हेरेर पुँजी वृद्धि गरिने बताएको छ । बाँकी अन्य कम्पनीहरूले भने योजना नै पेश गरेका छैनन् ।

त्यस्तै, निर्जीवनतर्फ एभरेष्ट, सगरमाथा, लुम्बिनी, एनबी, एनएलजी, प्रुडेन्सियल, नेको, शिखर र प्रिमियर इन्स्योरेन्स कम्पनीले समितिका पुँजी वृद्धि कार्ययोजना बुझाएका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्स, ओरियन्टल र नेसनल इन्स्योरेन्सले म्याद थप गरेका छन् भने अन्य कम्पनीले कार्ययोजना नै बुझाएका छैनन् ।

कम्पनीहरूले समयमा नै कार्ययोजना बुझाउनु पर्ने हो । तर, केही कम्पनीहरूको प्रक्रिया लामो हुने भएकाले समयमा नै योजना बुझाउन नसकेको समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बताए । “सरकारी कम्पनी तथा विदेशी बिमकहरूले समय मागेका छन्,” उनले भने ।

जीवन बिमा कम्पनीमध्ये गुराँस र एसियन लाइफ इन्स्योरेन्सले बोनश सेयर जारी गरेर नै चुक्ता पुँजी पु¥याउने योजना बनाएको छ । सूर्या लाइफ इन्स्योरेन्सले भने एफपीओ र हकप्रद सेयर जारी गर्ने र विदेशी कम्पनीसँग साझेदारी गरी पुँजी पु¥याउने योजना बनाएको छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.