साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू हुने, के च्यानल बन्द गर्लान त केवुल व्यवसायीले ?

  २०७४ असार २७ गते ७:१५     विकासन्युज

काठमाडौं । टेलिभिजन च्यानलमा विज्ञापन रहित (क्लीन फिड) नीति लागू गरे प्रसारण नै बन्द गर्ने व्यवसायीको चेतावनीपछि पनि सरकार पहिलेको निर्णयबाट पछि नहट्ने भएको छ।

सरकारको नीतिगत निर्णय भएका कारण पूर्व निर्धारित समय अनुसारनै क्लीन फिड लागू गर्ने तयारी रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए।

क्लीन फिड लागू गर्ने सरकारको नीतिगत निर्णय हो, उनले भने, नीतिगत व्यवस्था फेरिरहने भन्ने कुरा हुँदैन। उनका अनुसार साउन १ गतेबाट नै यो नीति कार्यान्वयनमा आउनेछ ।

स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित सरकारले गत वर्ष क्लीन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको थियो । विदेशी संस्कृतिको नकारात्मक प्रभाव रोक्न तथा स्वदेशी विज्ञापन बजारको विस्तारका लागि पनि नीति आवश्यक रहेको सरकारको ठहर थियो । सरकारले आगामी आर्थिक वर्ष २०७४ ७५ मार्फत नै साउन एक गतेदेखि क्लीन फिड लागू हुने घोषणा पनि गरिसकेको छ ।

क्लीन फिड नीति लागू गर्ने समय नजिकिदैँ गर्दा नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घ र डिस होम नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै डीटीएच कम्पनी केवल टेलिभिजनबाट प्रसारण हुँदै आएका सबै किसिमका च्यानल बन्द गर्ने चेतावनी सरकारलाई दिएको थियो ।

नेपालमा ९५ प्रतिशत विदेशी च्यानल विज्ञापन सहितका रहेको अवस्थामा यहाँका लागि छुट्टै फिड उपलब्ध नरहेकोले विज्ञापनरहित च्यानल प्रसारण गर्न सम्भव नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै क्लीन फिड लागू भएमा उपभोक्ताले प्रसारित च्यानलको शुल्क भुक्तान पनि गर्न सक्ने अवस्था नरहने संयुक्त विज्ञप्तिमा जनाइएको छ । अहिले दुईरतीन सयमा टेलिभिजन हेरिरहेका दर्शकले क्लीन फिड लागूभएपछि मासिक दुई हजार तिरेर टेलिभिजन त हेर्दैनन् नि, नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले भने। विज्ञापनरहित टेलिभिजन च्यानल भारतले पनि उपलब्ध गराउन नसक्ने र नेपाली उपभोक्ताले पनि यसको भार व्यहोर्न नसक्ने भएकोले यो नीति नेपालमा लागू गर्न सम्भव नरहेको उनको भनाइ छ ।

यसअघि भारतीय प्रसारण फोरम (आईबीएफ)ले पनि नेपालमा तत्काल क्लीन फिड लागू गर्न सम्भव नभएकोले यसको मिति सार्नुपर्ने धारणासहितको विज्ञप्ति जारी गरेको थियो। आईबीएफको एक टोलीले नेपाल सरकारका प्रतिनिधिलाई भेटेर नीति लागू नगर्न लबिङ गरेको थियो।

सरकारले भने पूर्वनिर्धारित समयमै यसलाई लागू गर्ने अडान कायम राखेको छ । क्लीन फिड नीति तत्काल लागू गर्न समस्या रहे पनि विस्तारै कार्यान्वयन गर्न सकिने भएकोले नेपालका लागि यो नितान्त आवश्यक रहेको नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठको भनाइ छ । बीबीसी, सीएनएनजस्ता विज्ञापनरहित टेलिभिजन नेपालमा प्रसारण हुन सक्ने अरु किन नसक्ने ? उनको प्रश्न छ। क्लीन फिड लागू भएसँगै हालको पाँच अर्ब बराबरको नेपाली विज्ञापन बजार एक वर्षमै दोब्बर हुने र यसले राजस्व पनि बढाउने उनले जानकारी दिए। नेपालमा पैसामात्र तिरेर हेर्नुपर्ने च्यानलमात्र नभएर निःशुल्क हेर्न सकिने ‘फ्रि टू वायर’ च्यानल पनि रहेकोले सबै च्यानल बन्द हुने भ्रममा नपर्न उनले आग्रह गरे।

के हो क्लीन फिड ?

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन। विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो। गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.