आइएमइ, यूनियन र ज्योति लाइफले बीमा समितिबाट लाईसेन्स पाए

  २०७४ असार २१ गते ९:०५     विकासन्युज

काठमाडौं । बीमा समितिले तीन वटा जीवन बीमा कम्पनीलाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बीमा समितिको सञ्चालक समितिले आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो ।

तीन वटै कम्पनीले मंगलबार बीमा समितिबाट सेवा सञ्चालन अनुमतिको प्रमाणपत्र लिएका छन् । ‘सबै प्रक्रिया पुरा गर्ने र संस्थापकको तर्फबाट कबुल गरेको सेयर पुँजी कम्पनीको खातामा जम्मा गरेका तीन कम्पनीलाई लाईसेन्स दियौं । प्रक्रिया पुरा गरेपछि बाँकी ७ कम्पनीलाई पनि लाईसेन्स वितरण गछौं’ बीमा समिति स्रोतले भन्यो ।

‘आइएमइ लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएको छ । हामी छिट्टै सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छौं’ आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । यस कम्पनीको अध्यक्ष डा रामहरि अर्याल छन् । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएको अर्याल यसअघि नेपाल राष्ट्र बैंकमा सञ्चालक थिए । प्रमुख कार्यकारी अधिकृतबारे अहिले टुङ्गो नलागेको उनले बताए ।

शंकर ग्रुपको अगुवाईमा स्थापना भएको यूनियन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण नियुक्त हुने सम्भावना अधिक छ । ‘कम्पनीले कर्णको नाम सिफारिस गरेको छ, बीमा समितिबाट स्वीकृत हुन बाँकी छ’ स्रोतले भन्यो ।

अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिई सकेको छ । निर्जीवनतर्फ पनि ४ वटा कम्पनी प्रक्रियामा रहेका छन् । पहिला प्रक्रियामा रहेका जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेपछि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्ने समितिको योजना रहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.