सिजन सगरमाथा आरोहणको, एकैपटक सय जना आरोहीले चुमे सगरमाथा शिखर

  २०७४ जेठ ८ गते ७:३८     विकासन्युज

वसन्तकालीन आरोहण अभियान अन्तर्गत यस वर्ष सगरमाथातर्फ गएकामध्ये हालसम्म १ सय २० बढी आरोहीले चुचुरोमा पाइला टेक्न सफल भएका छन् । पर्यटक विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७४ जनाले अनुमति लिएका थिए । यीमध्ये हालसम्म तीन जनाको आरोहणका क्रममा मृत्यु भइसकेको छ भने एक भारतीय हराइरहेका छन् ।


पर्यटन मन्त्रालयबाट सगरमाथा आधार शिविरका लागि खटाइएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस वर्षको पहिलो आरोहण गत सोमबार भएको थियो ।

त्यसदिन यता सय बढीले सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन् ।

‘सोमबार यता १ सय २४ जति आरोहीले समिट गरिसकेका छन्,’ सम्पर्क अधिकृत श्रेष्ठले भने । सोमबारपछि गत बिहीबार र शुक्रबार मौसम खराब हुँदा कुनै पनि आरोही चुचुरोमा पुग्न सकेका थिएनन् ।

‘सोमबारदेखि मौसम सुध्रिने संकेत सुनिएको छ, यसपटक मौसम अनुकुल रहे जेठ ११ भित्र थुप्रैले आरोहण सक्ने छन्,’ श्रेष्ठले भने । अहिलेको सिजनमा दैनिक ३५र४० जनाले आरोहण गरीरहेको खबर आएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

यसैबीच, आइतबार बिहान एक अमेरिकी नागरिकको मृत्यु भएको छ । सम्पर्क अधिकृत श्रेष्ठका अनुसार ५० वर्षीय ती अमेरिकी चिकित्सक रोल्याण्ड एयरउडको आरोहणका क्रममा बाल्कोनीमा मृत्यु भएको हो । ८ हजार ४ सय मिटर उचाईको बाल्कोनीमा उनी मृत अवस्थामा भेटिएका थिए । उनको आरोहण सकिएर फर्किने क्रममा मृत्यु भएको हो वा चढ्दै गरेकाबेला हो भन्नेबारे नखुलेको उनलाई लैजाने एजेन्सी एभरेष्ट परिभार एक्सपिडिसन कम्पनीले जनाएको छ ।

यस कम्पनीबाट यसपटक १५ जना सगरमाथा आरोहणकालागी त्यसतर्फ गएका थिए । त्यस्तै, सगरमाथा आरोहण सकेर फर्किदै गरेका एक भारतीय नागरिक शनिबारदेखि बेपत्ता छन् । रवीकुमार नामका ती भारतीय सेभन समिटस् ट्रेक्स प्रालि कम्पनीमार्फत गएका थिए ।

पर्वतरोहण संघका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाका अनुसार यस सिजनमा तिब्बती मोहोडाबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अष्ट्रेलियन आरोहीको मृत्यु भएको छ । ५४ वर्षीय फ्रान्सिस्को इन्रीको नाम गरेका उनी आरोहण सकेर फर्किदै गरेका बेला तिब्बततर्फको ७ हजार ५ सय मिटर हाराहारीको उचाईमा थिए । उत्तरतर्फको उक्त मोहोडाबाट साताअघि संखुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् ।

पर्यटक विभागका अनुसार यस वर्ष नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७४ जनाले सगरमाथाका लागि अनुमति लिएका थिए । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेहरुको यो संख्या हालसम्मकै सबैभन्दा धेरै मानिएको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.