बाहिरी चक्रपथको पाइलट प्रोजेक्टः १३७६४ कित्ताको ८९५६ रोपनी जमिन अधिग्रहण, ९६ जनाको मात्रै असहमति

  २०७३ चैत २० गते १६:१९     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले अघि बढाउन लागेको पाइलट प्रोजेक्टको कित्ता तथा जमिन एकिन गर्ने काम सम्पन्न भएको छ ।
आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाका अनुसार १३ हजार ७ सय ६४ कित्ता जमिन सो खण्डमा परेको छ । चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर पाइलट प्रोजेक्टमा ८ हजार ९ सय ५६ रोपनी जमिन अधिकग्रहण हुनेछ ।

अधिग्रहण गर्दा एक परिवारले न्युनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म जमिन योगादन दिनुपर्नेछ । बाँकी जमिन भने एकिकरण पछि सम्बन्धीत परिवारलाई नै फिर्ता दिइनेछ । नेपालमा जमिन एकिकरण गरेर सडक निर्माण गर्न लागिएको यो नै पहिलो आयोजना हो । बाहिरी चक्रपथ आयोजना सम्पन्न हुँदा उपत्यकाको १० प्रतिशत जमिनमा आधुनिक शहरीकरण हुनेछ ।

कुल अधिग्रहण गरिनुपर्ने जमिनमध्ये ९६ जनाले मात्रै असहमति जनाएका छन् । उनीहरुले अधिकतम २० प्रतशित मात्रै जमिन अधिग्रहण गर्नुपर्ने माग राखेका छन् । तर कानुनतः ५१ प्रतिशत जनताले सहमति दिएमा आयोजना अघि बढाउन पाइन्छ । आयोजनाले ६ अर्ब ३० करोड बजेटमा काम अघि बढाउने अन्तिम तयारी गरेको छ । ‘एक हप्ताभित्रै अनुमानित लागतसहितको डिपिआर मन्त्रिपरिषदमा पेश हुन्छ, हामीले मन्त्रालयलाई अन्तिम फाइल पठाई सकेका छौं’, सापकोटाले भने ।

बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।
मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् ।

आयोजनाले ६ अर्ब ३० करोडको बजेटमा पाइलट प्रोजेक्टको काम सम्पन्न गर्ने तयारी गरेको छ । जमिन अधिग्रहण र एकिकरणको काम आयोजनाले गर्नेछ भने सडक निर्माणको काम सडक विभागले नै गर्नेछ । बाहिरी चक्रपथ सडक निर्माणमा चीन सरकार र जाइकाले इच्छा देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.