‘संसारकै सबभन्दा स्वस्थ्य मुटु’ जंगलमा बस्ने मानिसहरूकाे

  २०७३ चैत ८ गते १३:३२     जेम्स ग्यालाघर

दक्षिण अमेरिकी मुलुक बोलिभियाका जंगलमा बस्ने चिमेने समुदायका मानिसहरुमा संसारकै सबभन्दा स्वस्थ्य मुटु फेला परेको अनुसन्धाताहरुले बताएका छन्।

उक्त समुदायका उमेर ढल्किसकेका मानिसमध्ये पनि विरलै कसैमा धमनीहरु अवरुद्ध भएको पाइएको ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ।

चिमेने

“यो त एक गजबको समुदाय रहेछ जसको खानपान र जीवनशैली निकै फरक छ,” अनुसन्धाताहरुले उल्लेख गरेका छन्।

ती समुदायजस्तो शिकार तथा संकलन अनि कृषिको प्राचीन कालको मानव जीवनशैलीमा बाँकी विश्वपनि फर्किन पर्छ भन्ने अपेक्षा गर्न नसकिने भएपनि तिनीहरुबाट सबैलाई केही पाठ भने मिल्ने अनुसन्धाताहरुले बताएका छन्।

चिमेने के हो?

बोलिभियाका तल्लो भेगमा अमेजन रेनफरेष्ट क्षेत्रको मानिकि नदी छेउछाउमा करिब १६ हजार चिमेने शिकार गर्ने, माछा मार्ने तथा कृषि कार्यमा संलग्न छन्।

उनीहरुको जीवनशैली हजारौं वर्ष पुरानो मानव सभ्यतासँग मेल खान्छ।

उनीहरु रहेको ठाउँमा पुग्नका निम्ति वैज्ञानिक तथा चिकित्सकहरुको टोलीले थुप्रै उडानका अतिरिक्त क्यानो डुंगामार्फत यात्रा गर्नु परेको थियो।

चिमेनेको खानपान कस्तो छ?

•उनीहरुको खानेकुराको १७ प्रतिशत शिकारका मासु हुने गर्छन् (बंदेल, बंगुरकै आकारको स्थानीय तापीर भनिने जन्तु तथा केपिबारा भनिने ठूला आकारका मुसा)

•खानेकुराको ७ प्रतिशत चाहिं स्थानीय पिरान्हा र क्याटफिस जस्ता खोलाका पानीमा पाइने माछा पर्छन्

•बाँकि खानेकुरामा खेती गरि उत्पादन गरिएका चामल, मकै, म्यानिओक रुट भनिने सख्खर खण्ड जस्तै वस्तु र प्लानटेन्स भनिने केरा प्रजातिका फल पर्छन्

•यी बाहेक उनीहरुले जंगलमा भेटिने फलफूल तथा नट्स पनि खाने गर्छन्

यसको मतलब हो:

•उनीहरुलाई ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेट्सबाट प्राप्त हुँदोरहेछ जबकि अमेरिकामा यो आँकडा ५२ प्रतिशत छ

•त्यस्तै १४ प्रतिशत क्यालोरी चाहिं फ्याट (चिल्लो पदार्थ) बाट प्राप्त हुँदो रहेछ जबकि अमेरिकीहरुमाझ यो आँकडा ३४ प्रतिशत छ। साथै चिमेनेहरुले निकै कम स्याचुरेटेड फ्याट सेवन गर्दा रहेछन्

•अमेरिकीहरु तथा चिमेने दुवैले प्रोटिनबाट १४ प्रतिशत क्यालोरी पाउँदा रहेछन्। तर चिमेनेहरुले कम चिल्लो पदार्थ हुने मासु लिन मिट बढ्ता सेवन गर्दा रहेछन्

उनीहरु कत्तिको ह्रृष्टपुष्ट छन्?

तुलनात्मक रुपमा उनीहरु निकै धेरै सकृय हुने गर्छन्। पुरुषले औसतमा १७ हजार पाइला प्रतिदिन हिंड्छन् भने महिलाले १६ हजार हिंड्छन्। साठी वर्ष नाघेकाहरुको समेत औसत हिंडाइ १५ हजार माथि पाइएको छ।

आधुनिक समाजमा दिनको १० हजार पाइला हिंड्नु पर्छ भनी भन्दै आइएको कुरालाई समेत लागु गर्न कठिन भइरहेको बेला उनीहरुको सकृयता गज्जबको लाग्न सक्छ।

“उनीहरुले प्रदर्शन गर्ने शारिरिक अभ्यासको मात्रा निकै राम्रो छ,” क्यालिफोर्नियास्थित लंग बिच मेमोरियल मेडिकल सेन्टरमा कार्यरत तथा अनुसन्धान टोलीका एक सदस्य डा ग्रेगोरी थोमसले बताए।

उनीहरुको मुटु चाहिं कति राम्रो छ?

वैज्ञानिकहरुले उनीहरुको शरिरमा कोरोनारी आर्टरी क्याल्सियम वा ‘सीएसी’ कति छ भनेर हेरे किनभने यिनले रक्त नलीहरुमा हुने अवरोध तथा त्यसबाट उत्पन्न हुने ह्रृदयाघातको जोखिम दर्शाउँछ।

वैज्ञानिकहरुले ७०५ जनाको मुटु जाँचे।

४५ वर्षको उमेरमा कुनैपनि चिमेने मानिसमा सीएसी देखा परेनन्। जबकि यति उमेरमा एक चौथाई अमेरिकीमा त्यो देखा पर्छ।

७५ वर्षको उमेर पुगिसक्दा पनि दुई तिहाई चिमेनेमा सीएसी पाइएन। यो उमेरमा ८० प्रतिशत अमेरिकीहरुमा सीएसीको संकेत फेला परिसक्छ।

युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ता बारबाराका मानवशास्त्रका प्राध्यापक माइकल गुर्भन भन्छन्: “आँकडा प्राप्त भएका अन्य कुनै पनि समुदायमा भन्दा यो निकै कम हो।”

“यस्तै कम पाइने अन्य समुदाय भनेको जापानी महिला हुन्। तर त्यो भन्दा चिमेनेको आँकडा निकै राम्रो पाइएको छ।”

के यो खानपान र अभ्यासले मात्र हो?

चिमेने समुदायका मानिसले कमै धुम्रपान गर्छन्। तर तिनमा संक्रमण धेरै हुने पाइएको छ। धेरै संक्रमण हुँदा त्यसले पनि जीउ सुन्निने जोखिम भइ मुटुमा समस्या हुन सक्छ।

अर्को कुरा चाहिं के छ भने आन्द्रामा पाइने किरा – जसले शरिरको प्रतिरोधी प्रतिकृया घटाइदिन्छ – उनीहरुमा धेरै पाइन सक्ने हुँदा त्यसले पनि मुटुलाई जोगाएको हुन सक्छ।

मैले यसबाट के सिक्ने?

प्राध्यापक गुर्भन भन्छन्: “मेरो विचारमा शारीरिक अभ्यासलाई सप्ताहान्तमा मात्र गरिने कार्य भन्दा अलि फराकिलो ढंगबाट हामीले सोच्नपर्छ।”

“काममा जाँदा साइकल चढेर जाने, भर्याँङ् चढ्ने अनि लेख्ने काम पनि ट्रेडमिल चलाउँदै गर्ने।”

डा थोमस भन्छन् स्वस्थ्य रहन हामीले गर्दै आएको भन्दा धेरै शारिरिक अभ्यास गर्नुपर्ने देखिन्छ।

“साथै ती मानिस साना समुदायमा बस्छन्। उनीहरुको जीवन एकदमै सामाजिक किसिमको छ र तिनको चिन्तन सकारात्मक छ।”

युनिभर्सिटि अफ ग्लास्गोका प्राध्यापक नविद सत्तरले यसलाई छोटकरीमा व्याख्या गर्दै भने, “साधारण शब्दमा भन्नु पर्दा स्याचुरेटेड फ्याट एकदमै कम तथा प्रशोधन नगरिएका वस्तुहरु धेरै सामेल स्वस्थ्य खानपान, धुम्रपान नगर्ने अनि लामो समय सकृय रहने विषयनै हाम्रा रक्तनली अवरुद्ध हुने जोखिमलाई कम गर्न सहायक देखिन्छन्।”

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.