‘समावेशी आर्थिक वृद्धि’ का लागि उद्यममा आधारित अर्थतन्त्र बनाउन सरकारी योजना अावश्यक

  २०७३ माघ १० गते १८:०४     विकासन्युज

काठमाडौं, १० माघ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको ‘समावेशी आर्थिक वृद्धि’ विषयक कार्यक्रम सम्पन्न भएको छ । विज्ञहरुले कार्यक्रममा समावेशी आर्थिक वृद्धिका लागि उत्पादकत्व बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागीले स्रोतको समान वितरण तथा दक्षताको अभावमा आर्थिक विकास समावेशी हुन नसकेको धारणा राखेका छन् ।

sejon_program_mon

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समग्र आर्थिक क्षेत्रको आकार बढाएपछि मात्रै समावेशीतालाई समेट्नु उपयुक्त हुने बताए । उनले जागिरभन्दा पनि उद्यममा आधारित अर्थतन्त्र बनाउन सरकारी योजनाहरु केन्द्रित हुनुपर्ने बताए । त्यस्तै खाडी मुलुक, मलेसिया, जापान र कोरियाबाट फर्कने कामदारलाई नेपालमै अवसर र उपयुक्त तलबको व्यवस्था गर्नेतर्फ तयारी शुरु गर्नुपर्ने समय आइसकेको उनले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले समावेशीताको विषयलाई धेरै नै प्रचार गरिदा पनि लगानीको माहोल सिर्जना गर्न समस्या हुन सक्ने धारणा राखे । ‘कृत्रिम भयले वृद्धिदर अघि बढ्न नसकेको परिस्थिति छ’ उनले भने । वृद्धिलाई रोक्ने नीतिगत व्यवस्था भन्दा वृद्धिदरलाई चलायमान र दीगो बनाउन नेपाल तयार हुनुपर्ने बताएका छन् ।

एसियाली विकास बैङ्क (एडीबी)का देशीय निर्देशक केनिचि योकोयामाले नेपालले पूर्वाधार र जनशक्ति विकासमा लगानी गर्न सके समावेशिताको लक्ष्य भेटाउन सक्ने बताएका छन् । लैङ्गिक तथा समाज अर्थशास्त्री विना प्रधानले नेपाल कुल गार्हस्थ्य उत्पादनमा महिलाको ५२ प्रतिशत योगदान रहेपनि त्यसलाई औपचारीक रुपमा आर्थिक विकासमा गणना नगरिएको बताए ।

पूर्व अर्थसचिव रामेश्वर खनालले स्रोत उपलब्ध हुदाहुँदै पनि असमानता कायमै रहेको र उत्पाकत्व बढाउन पूर्वाधार विकास र प्रविधिको अवलम्बन आवश्यक बनिसकेको बताए ।  त्यस्तै, सेजन अध्यक्ष गोकर्ण अवस्थीले समावेशी आर्थिक वृद्धिका लागि नेपालको समग्र अर्थतन्त्रकै आकार बढाउनुपर्ने र समानुपातिक विकासलाई अवलम्ब गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.