आर्थिक समृद्धि र विकास अबको आवश्यकता – मन्त्री जोशी

  २०७३ मंसिर २४ गते १७:२९     विकासन्युज

पोखरा, २४ मंसिर । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताएका छन् ।

कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उनले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्नुपर्ने बताए ।

देश राजनीतिक गतिरोधमा अल्झिरहेको बताउँदै उनले गतिरोधबाट देशलाई मुक्त गर्दै निकास दिनुपर्ने वास्तविकतालाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताए ।

राष्ट्रिय समृद्धिबाट मात्रै आजका बालबालिकाको भविष्य भोलि उज्यालो बन्ने बताउँदै मन्त्री जोशीले भोलिका लागि वातावरणीय संरक्षणलगायतका कुरालाई पनि सोच्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०का सचिवसमेत रहेका मन्त्री जोशीले कास्की जिल्लामा विकास निर्माणका लागि सहयोग गर्न पार्टीका तर्फबाट संसद् विकास कोषबाट रकम छुट्याएको बताए ।

सो पार्टीका पोलिटब्युरो सदस्य श्रीलाल महासेठले बालमैत्रीपूर्ण विद्यालय बनाउने कार्यक्रमले बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने धारणा राखेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बालमैत्री पूर्ण विद्यालय बनाउने कार्यक्रम सफल पार्ने बताउँदै विद्यालयको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक हुने बताए।

समाजसेवी केशवराज लम्सालले शिक्षा, स्वास्थ्यलगायतका दृष्टिबाट पिछडिएको कास्की दक्षिणभेगस्थित भरतपोखरी क्षेत्रको विकासका लागि राज्यस्तरबाटै सहयोग अपरिहार्य भएको बताए ।

वन विज्ञान अध्ययन संस्थानका उपप्रध्यापक डा जीतनारायण शाहले पछिल्लो समयमा बढिरहेको वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न वन जङ्गलको संरक्षणका साथै स्थानीय सचेतता आवश्यक भएको बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमबहादुर महत, रामचन्द्र पौडेल, वासुदेव पौडेल, सन्तोष लामिछानेलगायतले विद्यालय आउन नसकेका बालबालिकालाई आकर्षित गर्न बालमैत्रीपूर्ण विद्यालय बनाउने कार्यक्रम उपयोगी बन्ने विश्वास व्यक्त गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.