२०७३ साउन १७ गते ७:५४ विकासन्युज
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेका छन्। सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाउनुभएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए । राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेका थिए । उनले दिएको समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।
राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा पूर्व सांसद हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्ने कार्यसूची रहेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.