शिवम् सिमेन्टको १५ प्रतिशत नगद लाभांश पारित, सञ्चालकमा ५ जना निर्वाचित

  २०७६ कार्तिक ८ गते १७:०७     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टको प्रस्तावित १५ प्रतिशत नगद लाभांश पारित भएको छ । कात्तिक ८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै कम्पनीले सेयरधनीलाई कर बाहेक सो मात्रा अर्थात ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले कम्पनीका संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन गरेको छ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा सुरेन्द्रकुमार गोयल, रघुनन्दन मारु, सन्दिपकुमार शारडा, अमित मोर र रोहित गुप्ता छन् ।

सभा सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले नवनिर्वाचित संचालक सुरेन्द्रकुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पूनःजिम्मेवारी दिएको छ । यसका साथै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेको छ । उक्त निर्वाचित भएका ५ जना संचालकहरु यसअघि समेत संचालकको जिम्मेवारीमा थिए र उनीहरु नै पूनःनिर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीले सर्वसाधरण सेयरधनीहरुमा शेयर निष्काशन गरेको एक वर्ष नपुग्दै २ वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले लेखापरीक्षको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७६।०७७को आय व्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।