मंगलबारको सेयर कारोबारमा वृद्धि, प्रभु बैंकको मात्रै साढे पाँच करोडको सेयर किनबेच

  २०७६ कार्तिक १९ गते १५:३३     विकासन्युज

काठमाडौं । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम करिब ८ करोड ८० लाख रुपैयाँले बढेकाे छ । सोमबार १९ करोड १८ लाख रूपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार बढेर २७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

जसमध्ये प्रभु बैंकको मात्रै ५ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको तीन करोड ९४ लाख कित्ता संस्थापक(प्रमोटर) र एक करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी एकैदिन सो मात्राको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १६१ कम्पनीमध्ये प्रभु बैंक लगायत साल्ट ट्रेडिङ् कर्पोरेसन, एभरेष्ट बैंक र नबिल बैंकको करोडौंको सेयर बिक्री भएको छ । साल्ट ट्रेडिङको दुई करोड ६३ लाख, एभरेष्टको एक करोड ४६ लाख र नबिल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटेर ११३८.८९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशत कम हो ।

सो दिन जीवन र निर्जीवन बीमा दुबै समूह क्रमशः २१ र ११ अंकले ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी ११.५२ अंकले उकालो लागेको छ ।

बजारमा ग्लोबल आईएमई समुन्नत स्किम १को मूल्य १० प्रतिशतले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.५ प्रतिशतले घटेको छ ।