बीमा कम्पनीले उचाले बुधबारको सेयर बजार, नेप्से ८ अंकले बढ्दा सबै सूचक हरिया

  २०७६ मंसिर १८ गते १५:४२     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ८.७३ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले बढेर ११२४ अंकमा पुगेको छ ।

सो दिनको बजार बीमा कम्पनीले उचालेको छ । बुधबार सबैभन्दा बढी कमाउने र कारोबार गर्नेकाे लिष्टमा बीमा कम्पनी नै अग्रस्थानमा रहेका छन् । सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको सेयर मूल्य ८.५० प्रतिशतले बढेको छ । बुधबार बढी कमाउने टप टेनको लिष्टमा ४ वटा बीमा कम्पनी रहेका छन् । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ७.७२ प्रतिशत, ५.८० प्रतिशत र ५.६६ प्रतिशत कमाएका छन् ।

बुधबार १६९ कम्पनीको ३० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात २ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया र एनएमबि बैंकको क्रमशः एक करोड ९३ लाख रुपैयाँ र एक करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यसका साथै, जीवन र निर्जीवन बीमा दुबै समूह सयौँ बढी अंकले उकालो लागेका छ्न् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह १४२.९१ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह १०१.६५ अंकले उकालो लागेका छ । त्यस्तै, कारोबारमा आएका बाँकी सबै समूहको सूचक बढेर हरिया देखिएका छन् ।