बजारमा एक अर्ब बढीको सेयर कारोबार, लगानीकर्ताको आकर्षण निर्जीवन बीमा र लघुवित्तमा

  २०७६ माघ १५ गते १५:३४     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार झिनो अंकले ओरालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ०.२७ अंकले घटेर १३०५.८८ अंकमा झरेको छ ।

परिसूचक ओरालो लाग्दा पनि बजारमा एक अर्ब बढीको सेयर किनबेच भएको छ । बुधबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा चाँहि घटी नै हो, तर  सामान्यतया एक अर्ब माथिको सेयर कारोबारलाई बजारमा राम्रो मानिन्छ । अघिल्लो दिन मंगलबारको बजारमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा निर्जीवन बीमा र लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो छ । मंगलबार पनि उकालो लागेका यी दुई समूह बुधबारमा पनि दोहोरो अंकले उकालो लागेका छन् । जसमध्ये निर्जीवन बीमा समूह ९७.१९ अंकले उकालो लागेको छ भने लघुवित्त अर्थात माइक्रोफाइनान्स समूह ९०.९५ अंकले बढेको छ ।

यति मात्रै नभई सबैभन्दा बढी कारोबार हुने र बढी कमाउनेमा पनि लघुवित्त नै अग्रस्थानमा रहेको छ । बुधबार नाडेप लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ६ करोड ३८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको सेयर मूल्य पनि सबैभन्दा बढी अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेकाे दोश्रो स्थानमा निर्जीवन बीमातर्फको शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको एकैदिन ६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय २७ रुपैयाँ रहेको छ ।