नेप्से सामान्य अंकले बढ्यो, घोडीघोडा लघुवित्तका सेयरधनीले कमाए १० प्रतिशत

  २०७६ मंसिर १७ गते १५:३२     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ३.७५ अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा ०.३४ प्रतिशतले बढेर १११५.७४ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले बढेर २४६ अंकमा पुगेको छ ।

सामान्य अंकले उकालो लागेको बजारमा घोडाघोडी लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् । सो दिन संस्थाको सेयर मूल्य ५८ रुपैयाँले बढेर प्रतिकित्ता ६३८ रुपैयाँ पुगेको छ । त्यस्तै, दिब्यश्वरी हाइड्रो पावरको सेयर मूल्य ८.१४ प्रतिशतले बढेर प्रतिकित्ता ५३ रुपैयाँमा कारोबार भएको छ ।

बजारमा कूल १७२ कम्पनीको २६ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सिद्धार्थ बैंकको २ करोड ६० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । त्यस्तै, एनएमबि बैंकको एक करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ३९ लाख, एनआईसी एशिया बैंकको एक करोड २७ लाख र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको एक करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन जीवन बीमा समूह सबैभन्दा बढी ६३ अंकले उकालो लागेको छ भने ट्रेडिङ समूह सबैभन्दा बढी १७ अंकले ओरालो लागेको छ । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ५.४१ प्रतिशतले घटेको छ ।