नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, उत्पादनमूलक बाहेक बाँकी समूह हरिया

  २०७६ मंसिर १९ गते १५:२९     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिनको नेप्से ७.४५ अंकले उकालो लागेर ११३१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशतले बढी अर्थात यस साताकै उच्चतम अंक हो ।

परिसूचसँगै शेयर कारोबारमा पनि सुधार देखिएको छ । बुधबार ३० करोडको शेयर कारोबार भएको बजारमा बिहीबार ३५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कूल १६८ कम्पनीको कारोबार भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन तीन करोड ५१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ८९० रुपैयाँ रहेको छ । त्यस्तै, एनएमबि बैंक, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, हिमालयन डिष्टिलरी र सामूदायिक लघुवित्त वित्तीय संस्थाको एक करोड रुपैयाँ भन्दा बढी रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका छन् ।

बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १५३ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमाको ७१, माइक्रोफाइनान्सको २४, ट्रेडिङ र विकास बैंकको समूह १६÷१६ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले वृद्धि भएका छन् । उत्पादनमूलक समूह भने १५ अंकले ओरालो लागेको छ ।

सो दिन समीट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.७८ प्रतिशतले बढेको छ । त्यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ६.८८ र ६७७ प्रतिशतले बढेको छ ।