उपभोक्ता ‘ठगी’ गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर, खाद्यान्नमा मिसावट बढ्यो

  २०७४ कार्तिक ३ गते ११:२९     विकासन्युज

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका ६ खाद्यान्न उत्पादक तथा बिक्रेता विरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुले उपभोक्तालाई प्रतिकुल असर पार्ने खाद्यान्न उत्पादन तथा बिक्री गरेको विभागको दाबी छ ।

विभागका अनुसार ती उद्योग तथा पसल कम्पनीहरु प्रशोधित पानी, मिठाई, दुध तथा दानासँग सम्बन्धित छन् ।

विभागले जल प्योर ड्रिंकिङ वाटर प्रालि, नन्द मिठाई भण्डार, भक्तपुर शंखधर मिठाई पसल, मिल्क माण्डु डेरी प्रालि, नेपाल डेरी प्रलि र किसान दाना उद्योग विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।

कसुर

विभागले नमुनापरिक्षणमा ती कम्पनी तथा पसलका खाद्यान्न खाद्यान्न तथा वस्तु न्युनगुणस्तर तथा दुषित रहेको जानकारी दिएको छ । मिल्क माण्डु र नेपाल डेरीले बिक्री गर्ने दुधमा लेबलमा तलमाथी गरेको पाइएको छ ।

विभागले गत भदौ १९ गतेसम्ममा मुद्दा दायर गरेको थियो ।

खाद्य पदार्थमा मिसावट बढीरहेको विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंले जानकारी दिए । ‘खाद्यान्नमा मिसावट बढेको देखिएको छ । १ सय ५८ वस्तुको नमुना परिक्षण गर्दा केहि वस्तु कमसल देखिएकोले मुद्दा दयार गरिएको हो,’ उनले भने ।

विभागले विगत तीन महिनामा ४४ खाद्य उद्योग निरिक्षण समेत गरेको थियो ।

‘पिउने पानी, दुध, खाने तेल र मिठाईंमा बढि समस्या छ । विगत केही वर्षदेखि यो समस्या निरन्तर देखिदै आएको हो,’ चापागाईंले भने । मिसावट र गुणस्तर कमसल पाइएका खाद्य उत्पादक र बिक्रेतालाई बयान लिने र मुद्दा दायर गर्ने काम अगाडि बढिरहेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभागले १११ पटक खाद्यान्न बजार, उद्योग, दाना उद्योग तथा होटल रेष्टुरेन्टमा अनुगमन र १५८ वटा खाद्य बजारबाट अनुगमन गरी नमुना परिक्षण गरेको थियो । गत आर्थिक वर्षमा विभागले १२.७४ प्रतिशत खाद्य पदार्थ प्रतिकुल पाइएको थियो ।

के हुन्छ कारबाही ?

खाद्यान्नमा रोग लाग्ने जिवाणु भेटिएमा त्यसलाई दूषित खाद्य मानिन्छ भने त्यसमा पोषक तत्वको कमी पाइएमा न्युन गुणस्तरको मानिने चापागाईंले जानकारी दिए ।

न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई एक हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महीनादेखि १ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने खाद्य ऐनमा उल्लेख छ ।

दुषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँ देखि दस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्ष सम्म कैद वा दुवै सजाय हुने चापागाईंले जानकारी दिए । संस्थाको हकमा संस्थाको मुख्य प्रशासकिय जिम्मेवार हुने उनले बताए ।

मिठाई पसलमा व्यापक अनुगमन

तिहारको एक साता अगाडीदेखि विभागले उपत्यकाका २३ वटा मिठाई उद्योग तथा पसलमा अनुगमन गरेको छ । चाडपर्वको मौका पारेर
उद्योगी तथा बिक्रेताले उपभोक्तालाई बढी ठग्ने गरेको चापागाईंले जानकारी दिए ।

अधिकांश मिठाई पसलमा सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरिएको र शंकास्पद खाद्यान्नलाई नमुना परिक्षणका लागि संकलन गरिएको उनले बताए । उनले भने, ‘नमुना परिक्षणपछि जे प्रतिफल आउछ, त्यसैको आधारमा कारबाही अगाडी बढाउछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.