सानिमा रिलायन्स लाइफको सीईओ बने शिवनाथ पाण्डे, प्राधिकरणले दियो स्वीकृति

  २०७९ चैत १२ गते १५:४२     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका हुन् ।

बीमा प्राधिकरणले पाण्डेलाई कम्पनीको सीईओ बन्न आइतबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ पाण्डेले पनि आफू एक वर्षे कार्यकालको लागि सानिमा रिलायन्स लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरपश्चात सञ्चालक समितिले पाण्डेलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले आइतबार पाण्डेलाई सीईओ बन्न स्वीकृति दिएको हो ।

साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफबीच मर्जर सम्पन्न भई गत चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

को हुन् पाण्डे ?

पाण्डेसँग बैंक तथा बीमा क्षेत्रमा साढे ३ दशकभन्दा बढी समय काम गरेको अनुभव छ । यसअघि उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष सीईओको कार्यभार सम्हाले ।

पाण्डे सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.