४० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनी १४ वटा, यी हुन् अझै सेयर किनेर लाभांश खान पाइने

  २०७८ कार्तिक २२ गते १७:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा सय वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेहरुमा दोस्रो बजारमा सुचिकृत भएर कारोबार भइरहेका धेरै छन् भने केही कम्पनी सुचिकृत नभएका पनि छन् ।

लाभांश घोषणा गरेका सुचिकृत कम्पनी तथा सुचिकृत कम्पनीका सहायक कम्पनीमध्ये १४ वटा कम्पनीले भने ४० प्रतिशतभन्दा बढी लाभांश दिने घोषणा गरेका छन् । ती कम्पनीमध्ये पनि युनिलिभर नेपालले भने ६५० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । युनिलिभर नेपाल नेप्सेमा सुचिकृत कम्पनी हो ।

कम्पनीहरुले गरेको घोषणा अनुसार यो वर्ष सबैभन्दा बढी लाभांश घोषणा गर्ने दोस्रो नम्बरमा ग्लोबल आईएमई समुन्नत स्कीम–१ छ । यो स्कीमले आफ्ना इकाईधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । समुन्नत स्कीम–१ पनि नेप्सेमा सुचिकृत छ । युनिलिभर नेपाल र ग्लोबल आईएमई समुन्नत स्कीम–१ ले शतप्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालले ५५ प्रतिशत लाभांश दिदैछ । सो कम्पनीले ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल नेप्सेमा सुचिकृत कम्पनी होइन । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । महिला लघुवित्तले २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । महिला लघुवित्त वित्तीय संस्था भने नेप्सेमा सुचिकृत कम्पनी हो ।

नेप्सेमा सुचिकृत सनराइज फष्ट म्युचुअल फण्ड र एनआईबीएल प्रगति फण्डले ५०/५० प्रतिशतका दरले नै लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीहरुले शतप्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । नेप्सेमा सुचिकृत नभएको खुल्लामुखी योजना एनआईबीएल सहभागिता फण्डले पनि ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

एनआईसी एसिया क्यापिटलले ४८ प्रतिशत नगद लाभांश दिने भएको छ । यो कम्पनी एनआईसी एसिया बैंकको सहायक कम्पनी हो र नेप्सेमा सुचिकृत कम्पनी होइन ।

यस्तै, प्रभु क्यापिटलले २८.३८८५ प्रतिशत बोनस सेयर र १७.६१ प्रतिशत नगद लाभांश गरी ४५.९९८५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्रभु क्यापिटल पनि नेप्सेमा सुचिकत भएको कम्पनी होइन । यो कम्पनी प्रभु बैंकको सहायक कम्पनी हो ।

नेप्सेमा सुचिकृत नभएका सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल र सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले ४०÷४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् । नेप्सेमा सुचिकृत नबिल इक्वीटी फण्ड तथा सिटिजन्स म्युचुअल फण्ड–१ र २ ले ४०÷४० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेका छन् । यी सबै कम्पनीहरुले नगद लाभांश मात्रै दिने घोषणा गरेका हुन् ।

कुन कुन कम्पनीको लाभांश अझै पाइन्छ ?

कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउँछन् । त्यसैकारण बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश खानको लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ ।

लाभांश घोषणा गर्ने सुचिकृत कम्पनीहरुमा सिटिजन्स म्युचुअल फण्ड–१ र २, नबिल इक्वीटी फण्ड, एनआईबीएल प्रगति फण्ड, एनआईबीएल सहभागिता फण्ड, सनराइज फष्ट म्युचुअल फण्ड र युनिलिभर नेपालको पनि बुक क्लोज भइसकेकोले कम्पनीले यसपाली घोषणा गरेको लाभांश अब सेयर खरिद गर्ने लगानीकर्ताले पाउने छैनन् ।

कति लाभांश खान कति मूल्य तिर्नुपर्छ ?

लाभांश घोषणा गरेका तर बुक क्लोज भइनसकेका कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । लाभांश प्राप्त गर्नको लागि यतिबेला सेयर वा म्युचुअल फण्डको इकाई खरिद गर्दा अन्य समयको भन्दा केही महंगो पनि पर्न सक्छ ।

यसका लागि हामीले आज (कात्तिक २२ गते) नेपाल स्टक एक्सचेन्जमा कारोबार बन्द हुँदा कायम भएको मूल्यलाई लिएका छौं । यसरी हेर्दा यो वर्ष लाभांश घोषणा गरेकामध्ये ४० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीको सेयर वा इकाई महंगो मूल्यमा भएपनि किन्छु भन्नेहरुका लागि दुईटा विकल्पमा मात्रै छ । शतप्रतिशत नगद लाभांश दिने घोषणा गरेको ग्लोबल आईएमई समुन्नत स्कीम-१ को इकाई दोस्रो बजारमा किन्न पाइन्छ र बुक क्लोज पनि भइसकेको छैन । तर, यो स्कीमको इकाई खरिद गर्नको लागि अंकित मूल्यमा १० रुपैयाँभन्दा बढी थपेर २१.२० रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ । किनभने यो स्कीमको अंकित मूल्य भनेको प्रतिइकाई १० रुपैयाँ हो ।

बुक क्लोज भइनसकेकोले महिला लघुवित्त वित्तीय संस्थाको सेयर किनेर यो वर्ष घोषणा गरिएको ५० प्रतिशत लाभांश भने खान अझै पाइन्छ । तर, दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५१८० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.