५१ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो, सरकारप्रति लगानीकर्ता रुष्ट

  २०७८ कार्तिक १ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार बन्द हुँदा सेयर बजार ६९.५१ अंकले घटेको छ । सोमबार २ अर्ब ९६ करोड रुपैयाँ मूल्य बराबरको सेयर किनबेच भएको छ ।

४० हजार ४०० वटा सेयर कारोबारमा ८७ लाख ७६ हजार खरिदबिक्री भएका छन् । १८६ वटा कम्पनीको धितोपत्र कारोबार भएकोमा १८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

सोमबार महालक्ष्मी विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, यूनिलिभर र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य थोरै बढेको छ । गाम्दी हाइड्रोको १० प्रतिशतले मूल्य घटेको छ । ५१ वटा कम्पनीको सेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ । समग्रमा सेयर बजार भने २.६२ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक २५८७ अंकमा झरेको छ । यो गत असार यताको सबैभन्दा कम अंक हो ।

दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ ।

बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएको जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेको छ भने एनआइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेको छ ।

केन्द्रीय बैंकले सीडी रेसियो ९० प्रतिशत बनाउँदा बैंकमा लगानी योग्य पुँजीको अभाव भएको र बैंकहरुले व्याजदरमा आतंक मच्चाएकोले सेयर मूल्यमा उच्च गिरागट भएको लगानीकर्ता छोटेलाल रौनियारको भनाई छ । पुँजी बजारका ठूला लगानीकर्तालाई कर्जा सीमामा बाध्नाले पहिला ठूला लगानीकर्ता अत्तिएर सेयर बेच्न थालेको र अहिले साना लगानीकर्ता आत्तिएर सेयर बेच्न थालेको उनकाे भनाइ छ ।

सीडी रेसियोको सट्टामा सीसीडी रेसियो कामम गर्ने, सेयर कर्जामा ४ करोड र १२ करोडको सीमा हटाउने र कम्तिमा ३०० अर्ब रुपैयाँ पुर्नकर्जा प्रवाह गर्ने हो भने मुद्रा बजार र पुँजी बजारको समस्या हल हुने उनको सुझाव छ ।

सेयर बजार घट्दा वर्तमान सरकारप्रति सर्वसाधारण लगानीकर्ता आक्रोशित बनेकोले अहिलेको अवस्था जारी रहे आगामी निर्वाचनमा वर्तमान सरकारमा सामेल दलहरुले चुनाव हार्ने उनको विश्लेषण छ । सरकार लोकप्रिय बन्न र निर्वाचनमा राम्रो प्रभाव छोड्न वर्तमान सरकारले पुँजीबजारप्रति लचिलो नीति लिनुपर्ने उनकाे सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.