प्रदेश २ को उर्जामा लगानी गर्न आईएफसी र ईप्पान तयार, जग्गा उपलब्ध लगायत काममा सहजीकरण गर्न आग्रह

  २०७८ असार १४ गते १३:४२     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( ईप्पान)ले प्रदेश दुईको उर्जामा लगानी बढाउन तयार भएको बताएका छन् । सोमबार प्रदेश दुईको दीगो विकासका लागि उर्जा विषयक छलफल कार्यक्रमको आयोजना गर्दै उनीहरुले प्रदेश दुईमा उर्जा विकासका लागि लगानी बढाउने प्रतिवद्धता गरेका हुन् ।

सोमबार आयेजना गरेको कार्यक्रममा ईप्पानका उपाध्यक्ष आशिस गर्गले जलविद्युत व्यवसायीहरु प्रदेश दुईको उर्जा विकासका लागि लगानी बढाउन आफुहरु तयार भएको बताए ।

प्रदेश २ धरातलिय स्वरुपले पनि आयोजना निर्माणमा कम लागत लाग्ने, सामान आयात गर्न सजिलो हुने, लोड व्यवस्थापन राम्रो हुने भएकाले प्रदेश दुई सरकारले आयोजना निर्माणका लागि सहजता गर्नु पर्ने उनको भनाई छ ।

उनले प्रदेश दुई सोलार उर्जाको राम्रो सम्भावना भएको प्रदेश भएपनि हाल सबैभन्दा कम उर्जा उत्पादन र खपत गर्ने प्रदेशको रुपमा चिनिनु विडम्वना भएको बताए ।

अब प्रदेश दुई सरकारले सोलार उर्जा आयोजनाको लागि जग्गा उपलब्ध गराउनु पर्ने, ट्रान्समिटरको व्यवस्था र लाइसन्सको व्यवस्था छिटो गरिदिनु पर्ने उनको भनाई छ । उनका अनुसार हालसम्म प्रदेश दुईमा १४ मेगावाटको विद्युत मात्रै उत्पादन भएको छ भने २५ मेगावाट क्षमताको उर्जा निर्माणाधीन छ ।

उनले आयोजनाहरुका लागि ट्रान्समिसन, वितरण र पूर्वाधार निर्माणका लागि प्रदेश दुई सरकारले सहयोग गर्नु पर्ने बताए । ‘उद्योगहरुलाई पनि आफ्नै उद्योगभित्र सोलार प्लान्ट राख्नु पर्ने, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा पनि सरकारले लाग्नु पर्ने जस्ता नीति बनाएर काम गर्यो भने प्रदेश दुईलाई उर्जाको हब बनाउन सकिन्छ,’उपाध्यक्ष गर्गले भने ।

यस्तै, अन्तर्राष्ट्रि वित्त निगमका नेपाल प्रतिनिधि बाबकर सेडिख फायले आफुहरु नेपालमा उर्जा विकासको लागि लगानी बढाउन तयार रहेको बताए । निगमले नेपालमा उर्जा विकासका लागि महत्वपूर्ण काम गरेको बताउँदै प्रदेश दुईमा पनि लगानी बढाउन आफुहरु तयार रहेको उनको भनाई छ ।

ईप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पनि सबैभन्दा बढी जनसंख्या भएको, ट्रान्समिसनको ठूलो सञ्जाल र औद्योगिक क्षेत्र भएको प्रदेश दुईमा उर्जा विकास र खपतको सम्भावना  राम्रो भएको बताए । यसका लागि उर्जा व्यवसायीहरुबाट हुन सक्ने कामहरु आफुहरु गर्न तयार रहेको पनि उनको भनाई छ ।

‘सहज रुपमा आयोजना निर्माणका लागि प्रदेश सरकारले महत्वपूर्ण भूमीका खेल्नु पर्छ, प्रदेश सरकारले आफ्नो सहज नीति नियम ल्याएर काम गर्नु पर्छ, प्रदेश दुई राम्रो उर्जाको सम्भावना भएको प्रदेश हो, यसमा प्रदेश सरकार पछि हट्न् हुन्न,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.