काठमाडौंका सडक फराकिलो पारेका डा‍.तिवारी प्राधिकरणबाट बाहिरिँदै, विकास आयुक्तको खोजी गर्दै सरकार

  २०७७ चैत १९ गते १५:२५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी आगामी बैशाखबाट प्राधिकरणबाट बिदा हुने भएका छन् । तिवारीले प्राधिकरणमा आफ्नो ५ वर्षे कार्यकाल सकाएर बिदा हुने भएका हुन् ।

उनी वि.स २०७३ को बैशाखामा प्राधिकरणको विकास आयुक्तका रुपमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले उनलाई ५ वर्षको लागि विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि उनी प्राधिकरणमै नायव विकास आयुक्त पदमा कार्यरत थिए । उनले त्यतिखेर उमेर हदका कारण २०७२ चैतमा अनिवार्य अवकाश पाएका थिए ।

राजधानीका साँघुरा सडक फराकिलो पारेर काठमाडौंमा नयाँ तरंग पैदा गरेका भाइकाजी तिवारीको प्राधिकरणमा पुनः प्रवेशले एक खालको आशा नागरिकमा छाएको थियो । बाग्मती कोरिडोर निर्माणमा उनले नेतृत्वदायी भूमिका निभाएका थिए । नागरिकमा धेरै आशा उनीप्रति भएपनि यो अवधिमा धेरै गर्ने सोच भएका कामहरु पनि विविध कारणले गर्न नसकेको उनी सुनाउँछन् ।

२०१४ साल चैत ९ गते जन्मेका भाइकाजी २०४५ साल मंसिर २४ गतेबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । उनी २०६३ सालदेखि प्राधिकरणमा नेतृत्वदायी भूमिकामा छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ अध्ययन गरेका उनले मस्को र जर्मनीमा समेत अध्ययन गरेका थिए । उनले २०७० सालमा नेपाल सरकारको उत्कृष्ट कर्मचारीको पुरस्कार समेत प्राप्त गरेका थिए ।

बैशाख १२ गते प्राधिकरणबाट बाहिरिन लागेका डा. तिवारी दाेहाेरिन्छन् वा दाेहाेरिँदैनन् त्याे भने हेर्न नै बाँकी छ । ‘सरकारले चाहेको खण्डमा दोहोर्यान सक्छ, म दोहोरिने सम्भावना छ छ, तर निर्णय नै नभई अगाडि के बोल्नु,’ तिवारीले भने ।

सरकारले प्राधिकरणको विकास आयुक्तका लागि आवेदन माग गरिसकेको छ । शहरी विकास मन्त्रालयले २१ दिने सूचना जारी गर्दै विकास आयुक्तको खोजी प्रक्रिया अगाडि बढाएको हो ।

विकास आयुक्तका लागि आवेदन दिन चाहनेले मान्यता विश्वविद्यालयबाट सिभिल ईञ्जिनियरिङ वा शहरी योजना, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेकाे हुनु पर्ने उल्लेख गरेको छ ।

कुनै शैक्षिक संस्था वा निकायमा व्यवस्थापककाे हैसियतले कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरेको, शहरी विकास मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्ती तथा मनोनयन सम्बन्धि निर्देशिका २०७६को दफा ४ बमोजिम अयोग्य नभएकोले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.