अब ‘मेरो सेयर’बाट सेयर भर्न ‘पीन कोड’ चाहिने

  २०७७ असोज ४ गते १६:२७     विकासन्युज


काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि मेरो सेयर सफ्टवेयरमा रहेको माई आश्वा मार्फत सार्वजनिक निष्काशन भएका सेयर आवेदन प्रविष्टि गर्दा वान टाइम पासवर्ड (ओटीपी) प्रयोग गर्नुपर्ने थियो । उक्त सेवालाई प्रतिस्थापन गरी सो को सट्टामा पर्सनल आईडेन्टीफिकेसन नम्बर(पीआईएन) कोडको व्यवस्था गरेको सीडीएससीले जानकारी गराएको छ ।

सीडीएससीका अनुसार उक्त पीन कोड ४ डिजिटको हुने छ । जुन सेट गर्नको लागि प्रयोगकर्तालाई मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने छ । र, अबदेखि बजारमा निष्काशन हुने सेयरमा आवेदन दिँदा उक्त पीन कोड प्रयोग गर्नुपर्ने छ ।

कसरी लिने पीन कोड ?

उक्त पीन कोड लगानीकर्ता आफैले सेट गर्नुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

‘मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ । त्यसमा मेरो सेयर प्रयोगकर्ताले अक्षर(अल्फाबेट) नभई अंक (न्युमेरिक नम्बर) हाल्नु पर्ने छ । जुन ४ वटा डिजिटको हुनुपर्ने छ ।’, सीईओ आचार्यले विकासन्युजसँग भने ।

साथै, उक्त पीन कोड लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर भर्दा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने उनले जानकारी दिएका छन् । यदि उक्त काेड बिर्सिएमा लगानीकर्ताले पुनः रिसेट पनि गर्न मिल्ने व्यवस्था रहेकाे छ ।

‘मेरो सेयर’ सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले सीडीएससीले याे नयाँ व्यवस्थाले लागू गरेकाे हाे । यसअघि प्रयाेग भइरहेकाे वान टाइम पासवर्ड (ओटीपी) ले बढी लाेड दिने भएकाे र सुरक्षाकाे हिसाबले पनि उपयुक्त नहुने भएकाेले याे पीन काेडकाे व्यवस्था गरिएकाे सीईओ आचार्यले बताए ।

5 comments on "अब ‘मेरो सेयर’बाट सेयर भर्न ‘पीन कोड’ चाहिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.