लकडाउनमा कुलमानको सक्रियता, काठमाडौंका अव्यवस्थित तारलाई भूमिगत गर्नेमा तीव्रता

  २०७७ असार १९ गते १८:३०     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा धेरै कामहरु प्रभावित बनेका छन् । विकास निर्माणका आयोजनादेखि अन्य गतिविधिहरु लकडाउनको समयमा सुस्त नै छन् । तर यही लकडाउन काठमाडौंका अव्यस्थित विद्युतका तारहरु भूमिगत गर्ने कार्यलाई भने तीव्रता दिने एक अवसरका रुपमा देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा रहेको गुजुल्टो तारलाई व्यवस्थित बनाउनको लागि तार भूमिगत गर्ने कार्यलाई तीव्रता दिइएको हो । प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्र अन्तर्गतबाट भइरहेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगञ्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ ।

आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट, र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ ।

काठमाडौंले तारको गुजुल्टोबाट मुक्ति पाउने, बिजुलीका तार भूमिगत गरिँदै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइने काम गरेको हो । आयोेजनाका अनुसार चाबहिल क्षेत्रको वितरण लाइन भूमिगत गर्ने काम पूरा भइसकेको छ ।

प्राधिकरणको यो काम २०२१ अक्टोबर सम्ममा सक्ने गरी भारतको केईआई कम्पनीलाई ठेक्का दिएको छ । यस्तै, महाराजगन्ज क्षेत्रमा १ सय ४ किलोमिटर वितरण लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ । गत फागुनदेखि सुरु भएको वितरण लाइन भूमिगतको काम अहिलेसम्म निरन्तर रुपमा भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले चाबहिल–मित्रपार्क र चाबहिल–चुच्चेपाटी खण्डको लाइन भूमिगत गरेर सकिएको बताए । त्यसमा अब प्यानल राख्न बाँकी रहेको बताइएको छ । केही सिमित कामदारबाट तार भूमीगत गर्ने काम भइरहेको अधिकारीले बताए ।

चाबहिल क्षेत्रको काम पूरा भएकाले लैनचौर क्षेत्रको वितरण लाइन भूमिगत गर्ने कार्यको सुरुवात गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार अब दैनिक रुपमा वर्षा आउने भएकोले त्यसले गाडी आवत जावतमा समस्या हुने भएकोले भित्री भागबाट काम सुरु गर्ने बताए ।

तार भूमिगत गर्ने घिसिङको ‘कोर प्लान’

नपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङको यो मुख्य योजना हो । देशको लोडसेडिङ अन्त्य देखि वितरण प्रणाली सुधारका धेरै काम सफलतापूर्वक सम्पन्न गरेर वाहीवाही पाएका घिसिङको काठमाडौं लगायतका क्षेत्रको अव्यवस्थित तारलाई भूमिगत गर्नु पनि महत्वाकांक्षी योजना हो ।

उनले प्राधिकरण र देशको विद्युत क्षेत्र सुधारका लागि एलइडी बल्ब देखि पम्प स्टोरेज आयोजना सम्म उनका योजना रहेका छन् । जसमध्ये यो उनको कोर प्लानमा पर्छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि, स्मार्ट मिटर, स्मार्ट ग्रीड र भूमिगत तार बिच्छ्याउने उनको महत्वाकांक्षी योजनाका रुपमा उनले लिएका थिए ।

विभिन्न समयमा त्यसका लागि कदम चाले पनि आलसम्म हुन सकेको थिएन । तर, उनका लागि तार भूमिगत गर्ने उचित समय लकडाउन बन्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.