२०७६ भदौ १३ गते १३:४३ नबिन पोखरेल
काठमाडौ । नेपाल टेलिकमको नाफा घटेपनि तुलनात्मक रुपमा सेयरमा आकर्षण भने कायमै रहेको छ । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा खुद नाफा ७ अर्ब २८ करोडले घटेको छ । एक वर्षअघि प्रति कित्ता ७ सय ३२ रुपैयाँ रहेको सेयर मूल्य भने अहिले ६ सय ६७ रुपैयाँमा कायम छ ।
यसरी हेर्दा नेपाल टेलिकमको नाफा जसरी घटेको छ, त्यही मात्रामा सेयर मूल्य भने घटेको छैन । यसले नेपाल टेलिकमको सेयरमा लगानीकर्ताहरुको आकर्षण दखाउँछ । कम्पनीले दिने नगद लाभांशका कारण सेयर लगानीकर्तामा सकारात्मक प्रभाव परेका टेलिकमले जनाएको हो । नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ ।
खुद ७ अर्ब २८ करोड घट्यो
नेपाल टेलिकमको खुद नाफा आव २०७४/७५ भन्दा गत आव २०७५/७६ मा ७ अर्ब २८ करोड रुपैयाँ घटेको छ । आव २०७४/७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५/७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ ।
यस्तो छ सेयर मूल्य
२०७५ साल भदौ १७ गते आईतबार नेपाल टेलिकमको सेयर मूल्य ७ सय ३२ रुपैयाँ थियो । झण्डै एक वर्ष पश्चात २०७६ साल भदौ १३ गते बिहीबार सो मूल्य ६ सय ६७ रुपैयाँमा झरेको पाइन्छ । २०७५ साल मंसिर १८ गते टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँसम्म पुगेको थियो ।
१५ करोड कित्ता सेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ । हाल कम्पनीको चुक्ता पूँजी भने १५ अर्ब रुपैयाँ रहेको छ । बजार पूँजीकरण भने १ खर्ब ५ करोड रुपैयाँ रहेको छ ।
के भन्छन् सेयर लगानीकर्ता ?
एशियन सेक्यूरेटीजमा आवद्ध एक लगानीकर्ता माधव खनालले भने–‘वर्तमान अवस्थामा अन्य कम्पनीमा लगानी गर्नुभन्दा नेपाल टेलिकम राम्रो विकल्प भएका कारण लगानीकर्ताहरुले टेलिकम रोजेका हुन् ।’
यस्तै, सेकुअर्ड सेक्यूरिटीजमा आवद्ध एक लगानीकर्ता डुपेन्द्र भट्टराईका अनुसार नेपाल टेलिकमको सेयरमा आकर्षण हुनुको मुख्य कारण भनेको आकर्षक रिजर्भ कोषका हो । नेपाल टेलिकमले नगद लाभांस दिने भएकाले पनि सेयर मूल्यमा तलमाथि हुन पनि केही समय लाग्ने बताए । साथै, राम्रो आम्दानी भएका व्यक्तीहरुले मात्र टेलिकमको सेयर खरिद गर्ने कारण हत्तपत्त मूल्य तलमाथि नहुने उनको बुझाई छ ।
‘लगानीकर्ताको विश्वास छ’
नेपाल टेलिकमका म्यानेजिङ्ग डाईरेक्टर डिल्लीराम अधिकारीले ‘सेयर लगानीकर्ताको मर्म हामीले बुझेका छौँ, सोही कारण लगानीकर्ताले पनि हामीलाई विश्वास गर्छन् ।’ उनले पछिल्लो समय आफूहरुले लगानीकर्ताको पक्षमा काम गरेकाले सेयर मूल्य धेरै नघटेको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.