२०७६ असार ३१ गते १७:१२ विकासन्युज
काठमाडौँ । राष्ट्रिय गौरबको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाट सञ्चालनमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा दुबै गौरबका आयोजना सञ्चालनमा आएको जानकारी दिइएको हो ।
रानीजमरा कुलरिया सिचाईँ आयोजना ३८ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । मंगलबारदेखि सञ्चालनमा आएको उक्त आयोजनाबाट हाल १४ हजार ३ सय हेक्टरमा सिँचाई सुबिधा पुग्ने गरी नहरमा पानी पठाइएको छ । कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो ।
एक सय वर्षभन्दा पहिलेदेखि यी तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा विसं १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पुर्याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरिया सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण अघि बढाएको थियो । करीब २७ अर्बको लगानीमा आयोजनाको काम सम्पन्न भएको हो ।
यता, २०६३ सालबाट निर्माण शुरु भएको अर्को राष्ट्रिय गौरबको सिक्टा सिचाईँ आयोजनापनि मंगलबार देखि नै सञ्चालनमा आएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जानकारी दिए ।
तत्कालै ५ हजार हेक्टरमा सिचाईँ सुबिधा पुग्ने गरी नहरमा पानी पठाएको ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । २५ अर्बको लागतमा उक्त सिचाई आयोजना निर्माण सम्पन्न भएको हो ।
यी दुबै आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । प्रतिकूल मौसमका कारण प्रधामन्त्रीले उद्घाटन गर्ने कार्यक्रम स्थगित भएपनि सिँचाई आयोजना भने सञ्चालनमा आएको उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । बाँके जिल्लामा निर्मित सिक्टा सिचाईँ आयोजना निर्माण कै क्रममा भत्किएपछि गुणस्तरमाथि प्रश्न उठेको थियो । दुबै सिचाईँ आयोजना विश्व बैंकको ऋण अनुदानमा सम्पन्न भएका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.