२०७५ माघ १ गते ९:४८ विकासन्युज
इलाम । छ दिनदेखि अनशनरत प्रा. डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए ।
उनीहरुले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोद्धन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए ।
उनले डा केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोद्धन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताए । उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.