गत बर्षकाे तुलनामा चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटकमा बृद्धि

  २०७५ पुष ९ गते १५:२२     विकासन्युज

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४ /७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कात्तिकमा २६ हजार १६४ र मङ्सिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् ।

गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कात्तिकमा १८ हजार १७१ र मङ्सिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए ।

सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३र७४ मा एक लाख ३९ हजार ९७८ र २०७२/७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् ।

अङ्ग्रेजी नयाँ वर्षलाई बुकिङ राम्रो

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे विगतका वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन राम्रो रहेको बताएका छन् । अङ्ग्रेजी नयाँ वर्षको आसपासको समयका लागि ९० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् । उक्त समयमा होटल शतप्रतिशत भरिभराउ हुने घिमिरेको भनाई रहेको छ ।

पुस ११ गतेदेखि सौराहामा हात्ती महोत्सव हुनेभएकाले उक्त समयमा पनि पर्यटक आगमन निकै राम्रो हुने अपेक्षा गरिएको बताउँदै जनवरी पर्यटकीय हिसाबले त्यति राम्रो नभए पनि त्यसपछि पर्यटक आगमन क्रमशः बढ्दै जाने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

विगतमा भारतीय नाकाबन्दी, भूकम्पका कारण सुस्ताएको पर्यटन व्यवसायमा नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति कार्यले सडक यातायात असहज हुँदा पर्यटक आगमन निराशाजनक रहेको थियो तर अवरोध सबै हटेसँगै पर्यटक आगमनमा राम्रो सुधार हुने अपेक्षा व्यवसायीको रहेको छ ।

घिमिरेले हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा चितवन पर्यटक आएकोमा त्योभन्दा बढी पर्यटक यसवर्ष भित्रिने अपेक्षा गरिएको बताउँछन् । अहिलेसम्मको तथ्याङ्क सकारात्मक रहेको भन्दै पर्यटकीय वातावरण नबिग्रिएमा यस आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि उपलब्धी पूर्ण हुने भनाई व्यक्त गरेका छन् । चितवन आउने पर्यटक सौराहा, जगतपुर, पटिहानी, मेघौलीमा बस्ने गर्दछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.