२०७५ भदौ २ गते १५:३८ विकासन्युज
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको ७ करोड ८४ लाख बराबरको सेयर कारोबा भएको छ ।
यस्तै कारोबार भएको सेयर सङ्ख्याको आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १ लाख ७५ हजार कित्ता सेयर खरीद बिक्री भएका थिए । दुबै संस्थाको गत आर्थिक वर्षमा वित्तीय विवरण राम्रो आएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् ।
मेगाको ३२ प्रतिशत र नेपाल लाइफको १५ प्रतिशत नाफा बढेको छ । अघिल्लो वर्षको भन्दा बढी प्रतिफल पाउने अनुमान लगानीकर्ताको छ । बीमाङकीय मुल्याँकन हुन बाँकी रहेकाले नेपाल लाइफको नाफा अझै बढ्ने छ ।
धितोपत्र बजारमा यस साता १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख २ हजार ४५० कित्ता सेयर खरीद बिक्री भएका छन् ।
कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता सेयर रु ९१ करोड ८७ लाख ३२ हजार बराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोवार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.