२०७५ जेठ २२ गते १८:०० विकासन्युज
काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीर ढुंगानाले बोनस सेयर र हकप्रद सेयरको कारोबारमा लाभकर असुल्ने निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् ।
विकासन्युजसँग कुरा गर्दै सचिव ढुंगानाले अध्ययन समितिको निर्णय नआउँदासम्म कर असुली जारी रहने बताएका हुन् । ‘१५ दिन कुर्नुस, छलफल गरौं अनि निचोड निकाल्छौं भनेर लगानीकर्तालाई भनेका छौं’, ढुंगानाले भने ।
मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिने म्याद तोकेर लाभकरबारे अध्ययन गर्न समिति बनाएको छ । सोही समितिले दिने प्रतिवेदनका आधारमा बोनस तथा हकप्रद सेयरको कारोबारमा लाभकर लगाउने वा नलगाउने निर्णय गर्ने मन्त्रालयको तयारी छ ।
समितिमा मन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनी, आन्तरिक राजश्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी समेत सदस्य रहनेछन् । उनीहरुले विद्यमान कानुनी प्रावधान र नेपालको पूँजी बजारमा त्यसले पार्ने प्रभावका बारेमा अध्ययन गर्नेछ । समितिले सेयर बजारका लगानीकर्ता र जानकारहरुसँग आवश्यक छलफल समेत गरेर प्रतिवेदन तयार पार्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.