बैंक समस्यामा पर्दा ढुकुटी खोल्ने राष्ट्र बैंक सहकारी सुन्दा किन तर्सिन्छ ?

  २०८१ वैशाख २६ गते १२:१६     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले बैंकहरु समस्यामा पर्दा ढुकुटी खोलेर तरलता बजारमा पुर्याउने काम गर्दै आएको भए पनि सहकारीको समस्या समाधानमा मुकदर्शक बनेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहिबारदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सहकारीको समस्या समाधानका लागि राष्ट्र बैंकले कुनै पहल नगरेको बताएका हुन् ।

‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरु समस्यामा छन्, तर यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्, राष्ट्र बैंक पनि तर्सिन्छ,’ उनले भने ।

यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको र वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे ।

‘हामीले आफैं काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो, स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ, अराजकताले संकट ल्याउँछ, स्वायत्त भन्दा संकट आएको हो, दोस्रो तहको नियामक अतिआवश्यक छ,’ उनले भने ।

उनले अहिले सहकारीमा विशेष प्रकारका चुनौतीहरु रहेको र केही जोखिम पनि कायम रहेकोले ती जोखिम कम गर्नका लागि कानुनको परिपालना आवश्यक रहेको धारणा राखे ।

यस्तै, उनले कम्पनीमा फेक कम्पनी दर्ता गरेर सहकारीबाट ऋण लिएर त्यसले सहकारीहरु समस्यामा परेको अभ्यास रहेको पनि सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.