प्रतिमहिना एक लाखकाे घिउ किन्दै मधेस प्रदेश कृषि मन्त्रालय

  २०८१ वैशाख २५ गते ८:४२     विकासन्युज


जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घिउले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना १ लाख रुपैयाँ बराबरको घिउ खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घिउ खरिद सुरु भएको हो । गुठी संस्थानले पनि घिउ खरिद गर्न थालेको छ ।

पशुपालन तथा दुग्ध व्यवसाय गर्ने किसानसँग उधारोमा दूध खरिद गर्दै आएको आयोजनाले साउनदेखि मङ्सिरसम्मको बक्यौता रकम तिरेको भए तापनि पुस–माघको १ करोड ३१ लाख रुपैयाँ तिर्न बाँकी छ ।

उक्त आयोजनाअन्तर्गत १२ हजार किसान प्रत्यक्ष रूपमा आबद्ध भई आर्थिक लाभ लिन थालेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा उदयपुरका संकलन केन्द्रमार्फत दूध संकलन हुन गरेको छ । जाडो याममा चार हजार लिटर तथा सुक्खा याममा प्रतिदिन दुई हजार लिटर दूध संकलन हुने गरेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दा आयोजनाको मापदण्डअनुसार गुणस्तर निर्धाण गरेर मात्र बिक्री गर्ने गरिएको छ ।

आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैनिक तीन लाख मूल्य बराबरको बिक्री भइरहेको छ । आयोजनाले दूध, दही,घिउ, पनिर, आइसक्रिमलगायत सामग्री उत्पादन गर्दै आएको छ ।

गर्मी याममा यहाँबाट उत्पादित दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरसम्म दही बिक्री हुँदै आएको छ ।

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर व्यावसायिक उत्पादन वृद्धि गर्न अभिप्रेरित गरेमा किसानको जीवनस्तर सुधार हुनका साथै आर्थिक समृद्धितर्फको यात्रमा सफलता मिल्ने आयोजनाप्रमुख जोशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.