भरतपुरका होटलमा २५ प्रतिशतसम्म छुट पाइने

  २०८१ वैशाख १४ गते १२:५५     विकासन्युज

भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो ।

त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् । छुटको अनुपात अझ बढ्न सक्ने व्यवसायीले बताएका छन् । महानगर प्रमुख दाहालले भरतपुरमा पर्यटकिय गतिविधि बढेको भन्दै यहाँ आउने पर्यटकलाई दिने सेवा सुविधामा कमी हुन नदिन आग्रह गरे । महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदीका अनुसार भ्रमण वर्ष घोषणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका ५१ कार्यक्रममध्ये २० कार्यक्रम भरतपुरमा आयोजना भइसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ठूला खेलकुद प्रतियोगिता, प्रदर्शनीले भरतपुरमा मानिसको चहलपहल बढेको विज्ञ सुवेदीले जानकारी दिए। उनले पर्यटन व्यवसायीले रात्रिकालीन घुमफिर गर्ने ठाउँको खोजी गरेको बताए । ‘व्यवसायीले होटल सञ्चालनको समय बढाउनुपर्ने माग गरेका छन्,’ उनले भने, ‘यसबारेमा छलफल गरी रात्रिकालीन घुमफिरको स्थल तय गरिनेछ ।’

मेघौली र जगतपुरका होटल व्यवसायीले आफूहरू महानगरको छुटको प्रस्तावमा सकारात्मक बने पनि महानगरले गरेका कार्यक्रम पनि विकेन्द्रीकृत गरेर जगतपुर र गोलाघाटतिर पनि गर्नुपर्ने प्रस्ताव गरेका छन् । होटल व्यवसायी सङ्घ मेघौलीका अध्यक्ष सन्देश चापागाईंले भ्रमण वर्षका कारणले पर्यटक अपेक्षितरुपमा बढ्न नसकेको बताए ।

उनले भने, ‘हामी महानगरलाई सहयोग गर्न तयार छौं, तर महानगरले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यशाला मेघौली र जगतपुरतिर हुनुपर्छ, नारायणगढ केन्द्रित हुनुहुँदैन, सबै निकायको यस कार्यमा समुचित सहयोग आवश्यक पर्छ ।’

भ्रमण वर्षका लागि सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू-बनोट आदिका आधारमा महानगरले आफ्ना प्रमुख गन्तव्य छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तट क्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानका रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जङ्गल सफारी र जङ्गली जनावर बाघ, गैँडालगायतको अवलोकन पनि हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.