लघुवित्त संस्थाहरूको खराब कर्जा बढेका कारण प्रतिफल घट्यो

  २०८१ वैशाख ६ गते १४:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेका कारण लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफलमा संकुचन आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा निष्कृय कर्जा उल्लेख्य वृद्धि भएका कारण खुद नाफामा संकुचन आएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असारमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.८२ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यस्तै, ब्याज आम्दानी ६१ अर्ब १२ करोड रुपैयाँ, ब्याज खर्च ३५ अर्ब ८७ करोड रुपैयाँ र संचालन आम्दानी २१ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६५ वटा संस्थाहरूमध्ये २ वटा संस्था मात्र खुद नोक्सानीमा रहेकोमा यस आर्थिक वर्षमा कुल ५७ वटा संस्थाहरुमध्ये ४१ वटा खुद नाफामा र १६ वटा खुद नोक्सानीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस अवधिमा लघुवित्तको गैर–बैंकिङ सम्पत्तिमा भने कुनै परिवर्तन आएको छैन । लघुवित्तहरूको गैर–बैंकिङ सम्पत्ति १३ लाख ३६ हजार रुपैयाँ तथ्याङ्क छ ।

लघुवित्त संस्थाहरूले आफुले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । सो अनुसार २०८० असारसम्म एउटा संस्था बाहेक अन्य सबै संस्थाहरूले प्रवाह गरेको धितो कर्जा कुल कर्जाको एक तिहाईभन्दा बढी नरहेको राष्ट्र बैंकले जनाएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कुल कर्जामा धितो कर्जाको अनुपात २०.५५ प्रतिशत रहेको छ ।

कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले आर्थिक वर्ष २०७९/८० मा महिला लघुवित्त वित्तीय संस्थालाई १ हजार ३०५ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.