सकियो एसईई, कहाँ पढ्ने ब्रिजकोर्स ?

  २०८१ वैशाख ६ गते १४:२१     इन्द्रसरा खड्का


काठमाडौं । अछामका कैलाश कठायत एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि अहिले काठमाडौं आएका छन् । अछामको मेल्लेख गाउँपालिकामा रहेको जनता माबिबाट एसईई दिएका उनी ब्रिजकोर्स गर्न भनेर काठमाडौं आएका हुन् । उनी अहिले काठमाडौं बागबजारमा रहेको निम्स इन्स्टिच्युटमा ब्रिजकोर्स पढिरहेका छन् ।

कैलाशलाई साइन्स लिएर पढ्न मन छ । तर, साइन्स पढ्न सजिलो छैन । कलेजमा सीमित कोटा हुने भएकाले विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्छ । गाउँमा अंग्रेजी, गणित विषय राम्रोसँग पढ्न नपाएको भन्दै प्रतिस्पर्धाकै लागि पढिरहेको बताउँछन् उनी । गाउँमा राम्रो शिक्षक नहुनु र भएको शिक्षकले पनि राम्रोसँग नपढाउँदा भोलिलाई सजिलो होस् भन्दै ब्रिजकोर्स गरिरहेको उनले बताए । ब्रिजकोर्समा उनी अहिले म्याथ, अंग्रेजी, फिजिक्स, बायोलोजी र बायोमेटिक्स विषय पढिरहेका छन् ।

बागबजारमा रहेको निम्स इन्स्टिच्युट ब्रिजकोर्स अथवा अन्य कुनै पनि कक्षा तयारीका लागि नाम चलेको इन्स्टिच्युट हो । त्यहाँ अहिले ब्रिजकोर्स पढ्न आउने विद्यार्थीको भिड लाग्न थालेको छ । इन्स्टिच्युटका प्रबन्ध निर्देशक रामचन्द्र गौतम अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताउँछन् । ‘भर्खर एसईई सकिएको छ,’ उनी भन्छन, ‘पूर्वपश्चिम दूरदराजका विद्यार्थीहरू काठमाडौं आउनेक्रम जारी छ, अब ८, ९ गतेपछि विद्यार्थीको संख्या अझै बढ्छ ।’ निम्सले हरेक वर्ष १२ सय बढी विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको छ ।

भक्तपुर सल्लाघारीमा रहेको एसईआई इन्स्टिच्युटमा पनि ब्रिजकोर्स पढ्ने विद्यार्थीको भिड लागेको छ । वैशाख ३ गतेदेखि भर्ना कार्यक्रम सुरु गरी कक्षा सञ्चालन गरेको इन्स्टिच्युटले अहिले विद्यार्थी आउनेक्रम जारी रहेको बताएको छ । एसईई परीक्षा भर्खरै सकिएकाले विद्यार्थी आउनेक्रम जारी रहेको हुँदला इन्स्टिच्युटले वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी राखिने जनाएको छ ।

बझाङका सागर भण्डारी पनि बृज कोर्स पढ्नकै लागि काठमाडौं आउने तयारी गरिरहेका छन् । एसईई सकेर बसेका उनी होटेल म्यानेजमेन्ट पढ्ने योजनाका साथ ब्रिजकोर्स पढ्न काठमाडौं आउन लागेका हुन् ।

केदारस्यु गाउँपालिकाको शिक्षोदय माबिबाट एसईई दिएका उनलाई होटेल मेनेजमेन्ट (एचएम) पढ्ने रहर छ । सागरका दाइ चन्द्र अहिले भाइका लागि कुन कलेज, इन्स्टिच्युट राम्रो छ भन्ने खोजीमा छन् । सागर जस्तै दुर्गममा रहेका विद्यार्थी राम्रो इन्स्टिच्युटको खोजीमा छन् भने कैलाश जस्ता धेरै विद्यार्थी ब्रिजकोर्स गरिरहेका छन् । ब्रिजकोर्समा अधिकांश विद्यार्थीको रोजाइ कक्षा ११ मा धेरै प्रतिस्पर्धा हुने विषय परेका छन् । ब्रिजकोर्सले प्रवेश परीक्षा पास गर्न सजिलो हुने उनीहरूको विश्वास छ ।

एसईई दिएर बसेका विद्यार्थीको भीड अहिले शहरका इन्स्टिच्युटमा लागेको छ । धेरैजसो विद्यार्थी भर्ना भएर ब्रिजकोर्स पढिरहेका छन् भने कतिपय भर्ना हुनेक्रममा छन् । पहाड अथवा दुर्गम गाउँमा बसेर एसईई दिएका उनीहरू यतिबेला ब्रिजकोर्स गर्नकै लागि शहर पसेका छन् । एसईईपछि के पढ्ने भन्ने रोजाइअनुसार त्यसैको तयारीका लागि भन्दै अहिले ब्रिज कोर्स पढिरहेको विद्यार्थीहरू बताउँछन् । विशेषगरी स्टाफ नर्स, ओभरसियर, साइन्स म्यानजेजमेन्ट पढ्ने योजना बनाएका विद्यार्थीहरू तयारीस्वरूप ब्रिजकोर्स गर्ने गर्छन् ।

नयाँ बानेश्वरमा रहेको अल्फाबिटा पनि विद्यार्थीहरूका लागि राम्रो इन्स्टिच्युट मानिन्छ । त्यहाँ पनि अहिले विद्यार्थीको भीड लागेको छ । अल्फबिटाले वैशाख २ गतेदेखि नै ब्रिजकोर्स पढाउन सुरु गरिसकेको छ । अहिले विद्यार्थी आउने, बुझनेक्रम जारी रहेको अल्फाबिटाका एक कर्मचारीले बताए । उनका अनुसार वैशाख महिनाभरि भर्ना कार्यक्रम जारी रहने छ । ‘एसईई सकेका विद्यार्थीको भीड लागेको छ,’ उनी भन्छन्, ‘दिनहुँ, ५० देखि ६० जना विद्यार्थी यो विषयमा बुझनमात्र आउँछन्, अहिले आएकालाई पढाउँदै नयाँलाई थप्दै ब्रिज कोर्स पढाउने काम भइरहेको छ ।’ शिक्षाका विभिन्न कार्यक्रम चलाउँदै आएको अल्फाबिटाले वर्षेनी हजारौ विद्यार्थीलाई ब्रिजकोर्स पढाउने गरेको जनाएको छ ।

हरेक कलेजले क्षमतावान विद्यार्थीलाई आफ्नो कलेजमा भर्ना गर्न रूचाउँछन् । यसका लागि कलेजले सञ्चालन गर्ने हरेक कक्षामा कलेजले प्रतिभावन विद्यार्थी होस् भन्ने चाहन्छ । कुनै पनि कलेजमा मेडिकलदेखि अन्य विषयको कक्षामा भर्ना हुन प्रवेश परिक्षा दिनुपर्छ । त्यसका लागि नाम चलेका वा नचलेका कलेजले प्रवेश परीक्षा लिने गर्छन् । ब्रिजकोर्स गरेका विद्यार्थीलाई कलेजले लिने प्रविश परीक्षामा अरू विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्छ । प्लस टु वा प्राविधिक विषय पढ्न इच्छा भएका विद्यार्थीलाई पनि यस्तो कोर्सले पुलको रूपमा काम गर्ने इन्स्टिच्युटका सञ्चालकहरू बताउँछन् ।

काठमाडौँ, भक्तपुर, ललितपुरदेखि पूर्वपश्चिमका मुख्य शहरमा विद्यार्थीको भीड अहिले इन्स्टिच्युटमा देखिन थालेको छ । ब्रिज कोर्स मुख्यतः ३ महिनाको हुन्छ । यसमा कुन विषयका लागि विद्यार्थीले तयारी गर्ने योजना बनाएको छ । त्यही अनुसारका विषयहरू पढाइ हुन्छ । यस्तो बेलामा कुन इन्स्टिच्युट विद्यार्थीका लागि राम्रो हो भन्ने विद्यार्थी स्वंय र अभिभावकलाई पनि दोधार पर्छ । संस्थानहरूले पढाएबापत फरक–फरक शुल्क लिने गरेका छन् । यसका लागि ८ हजारदेखि १० हजार खर्च विद्यार्थीले तिर्नुपर्ने हुन्छ ।

उपत्यकामा चलेका इन्स्टिच्युट

इन्टेल इन्स्टिच्युट

बगबजारमा रहेको यो इन्स्टिच्युृट पनि नाम चलेको इन्स्टिच्युट हो । सन् १९९५ मा स्थापना भएको इन्स्टिच्युटले हालसम्म लाखौँ विद्यार्थीलाई उच्च शिक्षा र अन्य क्षेत्रका विषयवस्तुको पनि तयारी गराइरहेको छ । एसईई दिएर राम्रो कलेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो संस्था पनि उपयुक्त हुन्छ । साइन्सदेखि हरेक विषयको तयारी गर्न लागेका विद्यार्थीहरूका लागि इन्टेल इन्ष्टिच्युटले ब्रिजकोर्स सञ्चालन गर्ने गर्छ ।

अर्बिटल शिक्षा फाउण्डेशन

अर्बिटल शिक्षा फाउण्डेशन प्राविधिक विषयलगायत मेनेजमेन्ट क्षेत्रमा अध्ययन गर्न चाहेनेहरूका लागि उपयुक्त संस्था हो । विशेषगरी बीबीए, बीएचएम, बीटीटीएम लगायत मेनेजमेन्ट फ्याकल्टी पढ्ने योजनामा रहेका विद्यार्थीलाई प्रतिस्पर्धा गर्न यहाँ राम्रो तयारी गराइन्छ । अनुभवी शिक्षकहरू रहेको यो संस्थामा एसईई दिएर यी विषय पढ्ने सोचमा हुने विद्यार्थी लागि यो राम्रो ठाउँ हो । व्यवस्थापन, विज्ञान, स्टाफनर्स लगायत मेडिकल शिक्षामा अध्यन गर्न चाहने विद्यार्थीले ब्रिजकोर्स गर्न सक्छन् ।

क्यामब्रिज इन्स्टिच्युट

काठमाडौं नयाँ बानेश्वरमा रहेको यो इन्स्टिच्युट पनि विद्यार्थीहरूलाई ब्रिजकोर्सका लागि राम्रो शिक्षा प्रदान गर्ने संथाभित्र पर्छ । यसले बर्सेनि हजारौंको संख्यामा विद्यार्थीहरूलाई तयारी कक्षा सञ्चालन गराउँछ । राम्रो कलेजमा अध्यन गर्न वा अन्य तयारीका लागि पनि यो इन्स्टिच्युटले सहयोग पु¥याउँदै आएको छ । यो इन्ष्टिच्युट विशेषगरी ए लेभल अध्ययन गर्न चाहने विद्यार्थी, स्टाफ नर्स, ओभरसियर विषयमा तयारी गर्नेहरूका लागि उपयुक्त ठाउँ हो ।

पाठशाला शिक्षा प्रतिष्ठान

नयाँ बानेश्वरमा रहेको पाठशाला पनि विद्यार्थीहरूका लागि राम्रो पाठ सिकाउने संस्था हो । यसले लामो समयदेखि विद्यार्थीहरूका लागि तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ । हरेक वर्ष हजारौँको संख्यामा विद्यार्थीलाई ब्रिजकोर्स तयारी गराउँदै आएको यस प्रतिष्ठाले व्यवस्थापन, साइन्स लगायत विभिन्न विषयको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सहजीकरणको काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.