‘भेप’ को लतमा विद्यार्थी, आयातमा प्रतिबन्ध लगाउन सुझाव

  २०८१ वैशाख ४ गते १२:५९      इन्द्रसरा खड्का

 

काठमाडौं । पेसाले उनी एक चिकित्सा प्रतिनिधि । विभिन्न अस्पतालहरूमा पुगेर मार्केटिङ गरी औषधी बिक्री गर्ने उनको काम हो । उनी काठमाडौंको एक फर्मामा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को रूपमा काम गर्छन् । विडम्बना, स्वास्थ्यजस्तो संवेदनशील विषयको जानकार हुँदाहुँदै पनि चुरोटको लतमा फसे उनी ।

चुरोटको लत छुटाउन उनले हरसम्भव कोसिस गरे । तर, सफलता हात लागेन । चुरोटकै लत छुटाउन उनी दोस्रो लतमा फस्दै गए । कहिले खैनी, कहिले पराग, सुपारी खाए । यतिमात्र होइन हुँदाहुँदा उनी ‘भेप/ई-सिगरेट’ को लतमा फस्न पुगे ।

भाउ पनि चुरोट जस्तो महँगो नहुने र तान्दा गन्ध पनि नआउने भएपछि उनलाई भेप प्रयोग सहज लाग्यो । २ हजार रुपैयाँमा किनेको भेप सजिलै बोक्न मिल्ने भएपछि उनले करिब दुई महिना प्रयोग गरे ।

‘यो सेवन गर्न हुँदैन, यसको सेवनले स्वास्थ्यमा नोक्सान हुन्छ भन्ने पनि थाहा नभएको होइन उनलाई, तर यो लत छाड्न निकै गाह्रो परेको छ,’ उनका एक नजिकका साथीले विकासन्युसँग भने ।

ती स्वास्थ्यकर्मी जस्तै अहिले नेपालमा ‘भेप/ई–सिगरेट’ प्रयोग गर्नेको संख्या डरलाग्दो छ । यसको प्रयोग गर्नेमा सबैभन्दा धेरै स्कुले विद्यार्थी रहेको पाइएको छ । साथीको संगत र बढ्दो बजारीकरणको विज्ञापनले नेपाली विद्यार्थी यसमा संगलग्न भइरहेको चिकित्सकहरूले बताएका छन् । नेपालमा अहिले कति युवाले भेपको प्रयोग गरिरहेका छन् भन्ने एकिन तथ्यांक नभए पनि एउटा अध्ययनले १८ देखि २४ वर्षका विद्यार्थीले भेपको प्रयोग गरिरहेको देखाएको छ ।

नेपालमा केही महिना अगाडि स्नातक तहका विद्यार्थीहरूमा गरिएको अध्ययन अनुसार ६ प्रतिशतले भेप प्रयोग गरिरहेको पाइएको छ । १८ देखि २४ वर्ष उमेर मुनिका ४ सय विद्यार्थीमा गरिएको अध्ययनमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष थिए । २१ प्रतिशतले भेप एकपटक वा त्योभन्दा बढी सेवन गरेको पाइएको छ ।

यस्तै पहिलो पटक सेवन गर्न सुरु गरेका २८ प्रतिशतले निरन्तर सेवन गरेको र ८० प्रतिशतले साथीको लहलहैमा लागेर सेवन गरेको चिकित्सकले बताएका छन् । यसमा ४१ प्रतिशतले यो सजिलो छ भन्दै खाएको र २५ प्रतिशतले अनलाइनमार्फत किन्ने गरेको पाइएको छ । यो सानो अध्ययनले नेपालमा भयावह अवस्था देखिएको भन्दै ह्याम्स अस्पतालका पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डले चिन्ता व्यक्त गरिन् ।

भेपको लतमा कसरी फसे विद्यार्थी ?

नेपालमा विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी चुरोट खान्छन् । घरमा अभिभावक, विद्यालयमा शिक्षलाई छलेर लुकिछिपी चुरोटमात्र होइन अन्य सुर्तीजन्य पदार्थ पनि खाने गरेको पाइन्छ । पछिल्लो समय चुरोटको सट्टा विद्यार्थीको रोजाइमा भेप परेको छ । नेपालमा भेपको प्रयोग गर्न थालिएको धेरै भएको छैन । तर, अहिले विद्यार्थीहरू यसको नराम्रो लतमा पर्न थालेका छन् । उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का उपाध्यक्ष टंकराज आचार्य नेपालका युवाले कलिलो अवस्थामा साथीभाइको संगतमा विद्यालयबाटै भेप सेवन गर्ने गरेको बताउँछन् ।

‘अरुको देखासिखीले विद्यार्थी यसको लतमा फस्दैछन्,’ आचार्य भन्छन्, ‘नेपालका युवाहरूको आकर्षण अहिले कोरियन चलचित्रमा बढी छ, त्यसमा बढी यस्तै कुराको प्रयोग गरेको दोखाइन्छ, यसबाट हाम्रा विद्यार्थीले सिको गर्न थाले यो नराम्रो पक्ष हो ।’

टंकराज आचार्य

आचार्य अहिले नेपालमा भेप सप्लायर्सको ठूलो नेटवर्क सक्रिय रहेको बताउँछन् । ‘पहिले लागूऔषधको व्यपार गर्ने तस्करहरू गेट बाहिर भेटिन्थे,’ उनी थप्छन्, ‘बाहिर चिया पसल, खाजा पसलमा देखिने उनीहरू अहिले बाहिर देखिन छोडे, अहिले उनीहरू एउटा नेटर्वक बनाएर लागिरहेका छन् ।’ विद्यार्थी अहिले भेप प्रयोग गर्नेमात्र नभइ त्यसको सप्लायर्समा पनि लागेको उनी बताउँछन् ।

‘विद्यार्थी आफूले डिभाइस, कलम बोकिरहेको जस्तै महसुस गरेर भेप बोकिरहेका छन्,’ उनी भन्छन्, ‘विद्यार्थीले यसलाई शिक्षकको सोचभन्दा पर रमाइलो मनारहेका छन्, तर म उनीहरू यसमा निर्दोष देख्छु, यसमा विद्यार्थीलाई दोष देखाएर शिक्षक उम्कन मिल्दैन ।’

बढदै आयात

नेपालमा प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दै गएको पाइन्छ । भन्सार विभागले गएको महिना सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दा करोडौं रकम विदेशिने गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म करिब ९ करोड १४ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय सिगरेट आयात भएको देखिन्छ । गत साउनमा करिब २७ लाख ९७ हजार रुपैयाँको मात्रै आयात भएको भेप भदौमा दोब्बर बढेर ६५ लाख २६ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै असोजमा ८६ लाख ७८ हजार, कात्तिकमा १ करोड ७ लाख ४२ हजार, मंसिरमा १ करोड ८ लाख ७ हजार र पुसमा १ करोड १३ लाख ८६ हजार रुपैयाँको भेप आयात भएको छ । माघ महिनामा १ करोड ८८ लाख ९१ लाख रुपैयाँको आयात भएको भेपको संख्या फागुनमा बढेर २ करोड १६ लाख ५२ हजार रुपैयाँको आयात भएको छ ।

कस्तो पार्छ स्वास्थ्यमा असर ?

‘भेप/ई–सिगरेट’ सवस्थयका लागि निकै हानिकारक भएको चिकित्सिक बताउँछन् । ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी यसको प्रयोगले फाेक्सोलाई ठूलो हानी गर्ने बताउँछन् । निकोटिन आफैमा राम्रो हैन, यसले अल्पकालिनदेखि दिर्घकालिनसम्म असर गर्छ ।

उनका अनुसार भेप प्रयोग गर्ने व्यक्तिमा छटपटाहट हुने, निन्द्रा नलाग्ने र मुटुको चाल बढ्ने समस्या धेरै हुन्छ । सुगरको मात्रा बढ्ने हुन्छ भने पाचन नलीमा पनि असर पर्छ । मुखबाट अमिलो पानी आउने, छाती पोल्ने पखाला लाग्ने समस्या पनि देखा पर्ने उनी बताउँछन् । धुम्रपानको लत छुटाए पनि निकोटिनको लतबाट छुट्करा पाउन अत्यन्तै गाह्रो हुने चिकित्सकको भनाइ छ ।

डा. राजु पंगेनी

यसले मष्तिष्कको भित्री भागमा रहेका तन्तुमा असर पर्छ । डा. पंगेनी भन्छन्, ‘२०-२२ वर्ष उमेरका युवाहरूले यसको प्रयोग गर्दा विकसित हुँदै गरेको मष्तिष्कले निकोटिनको लत भेटायो भने मष्तिष्कको अग्रभागमा गम्भीर असर पर्छ ।

भारत लगायत विश्का ३५ राष्ट्रमा भेप आयतमा पूर्णप्रतिबन्धत लगाइएको छ । डा. रक्षा पाण्डे भेपमा निकोटिनको प्रयोग हुने भएकाले यसको लत लागिसकेपछि छोड्न मुस्किल पर्ने बताउँछिन् । यसको प्रयोगले मुटु, फोक्सोदेखि लिएर क्यान्सरसमेत हुने जोखिम रहेको उनको भनाइ छ । यसमा १६ हजार बढी स्वादहरू हुने भएकाले यसको बानी परिसकेपछि छोड्न मुस्किल हुने भन्दै उनी सरकारले यसमा कडाइ गर्नुपर्ने उनी बताउँछिन् ।

डा. रक्षा पाण्डे

नीति/नियम नै कमजोर

नेपालमा भेपको आयात निकै सजिलो छ । अर्को कुरा यसलाई सुर्तीजन्य पदार्थ मान्ने कि नमान्ने भन्ने कुरो अझै स्पष्ट छैन । अहिले हातमा इन्टरनेट हुनासाथ सजिलै भेप पाउन सकिन्छ । प्रयोगकर्ताहरूले अनलाइनबाट सजिलै प्राप्त गर्न सक्छन् । नेपालमा पनि छ्यापछ्याप्ती अनलाइन भेपिङहरू छन् । अनलाइन भेपिङ भनेर सर्च गर्दा ललितपुर, काठमाडौंका विभिन्न ठाउँमा पाउन सकिन्छ । यसरी सहजै पाउने भएकाले ८ देखि ९ वर्षका बालबालिका पनि यसको जोखिममा पर्ने डर रहेको डा. रक्षा बताउँछिन् ।

अहिले चुरोट प्रयोगकर्ताले भेप प्रयोग गरिरहेको भन्दै डा. रक्षाले यसका लागि गतिलो नियम आवश्क रहेको बताइन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की सुर्तिजन्य पदार्थले स्वास्थ्यमा नराम्रो असर पारिरहेको भन्दै आयातमा कडाइ गर्न आफुहरूले माग गरे पनि यसमा सुनावाई नभएको बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने भए पनि नेपालमा ३३ प्रतिशतमात्र कर उठाइने गरेको भन्दै उनले यो विषयमा कुनै पनि दलको प्राथमिकतामा यो विषय नरहेको बताए । उनी यसका लागि कडा नियम बनाउन नसके पनि अहिले भएकै नीति–नियमलाई कडाइ गर्नुपर्ने बताउँछन् ।

सचेतना आवश्यक

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल यस विषयमा सचेतना जगाउनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयले पत्रपत्रिकामा मादकपदार्थको विज्ञापनलाइ बन्द गर्न ठूलै संघर्ष गर्नुपरेको बताउँदै पोख्रेल भन्छन्, ‘अब भेपलाई बन्द गर्न नियम नै बनाउनुपर्छ भनेर सोच्नुपर्ने बेला आएको छ, नभए यसको लागि पनि ठूलै संघर्ष गर्नुपर्छ ।’

उनी अहिलेदेखि नै कडा रूपमा नलाग्ने हो भने भोलिका दिनमा अझै भयावह स्थिति हुने बताउँछन् । जसरी हामी सर्ने नसर्ने रोगमा पनि अझै लड्दै आइरहेका छौँ भोलि यसले पनि त्यस्तै दुःख नल्याउला भन्न नसकिने भन्दै सोचमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ ।

आयात प्रतिबन्ध लगाउनुपर्नेमा दलका नेताको एकमत

भेपले नेपाली विद्यार्थी लतमा फस्दै गएको विज्ञको भनाइपछि राजनीनितक दलका प्रतिनिधि यसमा प्रतिबन्ध लगाउनुपर्ने बताउँछन् । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल पश्चिमा देशको नक्कल गर्न रूचाउने मनोविज्ञानले नेपाली युवाले भेपको प्रयोग गरिरहेको बताए । चुरोटको लत छोड्ने, चुरोटले जस्तो भेपले हानी नगर्ने भन्दै युवाहरूले यसको प्रयोग गरिरहेको पाण्डे भन्छन् । ‘यसमा निकोटिन छ यसले स्वास्थ्यमा असर पार्छ भन्ने थाहा नभएकाले युवाहरू यसको प्रयोग गरिरहेका छन्,’ उनले भने ।

प्रदीप पाैडेल

भेप नेपालको उत्पादन होइन । कसैको सिको गरेर प्रयोग गर्ने स्थिति नेपालमा भयावह हुन नदिन प्रतिबन्ध लगाउनुपर्ने पाण्डेको भनाइ छ । यसका लागि आवश्यक नीति/नियम बनाउनुपर्ने भन्दै उनले ३५ देशमा भेपको पूर्णप्रतिबन्ध भएकाले ३६औं देश नेपाललाई बनाइनुपर्ने बताए ।

नेपाल चुरोटको सेवनबाट प्रत्येक दिन १०२ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा नेपाली विद्यार्थीले विदेशीको सिको गरेको बताउँदै यसको नियन्त्रणका लागि प्रतिबन्ध पनि एउटा राम्रो कार्य हुने बताउँछन् । साउथ एशियामा सबैभन्दा धेरै आयात हुने र ट्याक्स सबैभन्दा कम लिने देश नेपाल हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओ तथ्यांकअनुसार ७५ प्रतिशत ट्याक्स हुनुपर्नेमा नेपालले ३३ प्रतिशत ट्याक्स लगाएको छ ।

मनिष झा

नेपाल डेभलपमेन्ट रिसर्च इस्टिच्युटको एउटा अध्यनले सुर्तीजन्य पदार्थ आयात गर्दा करिब साढे ३१ अर्ब राजस्व आएको देखाएको छ । तर, धुम्रपानसँग जोडिएर चुरोटले मात्र स्वास्थ्यमा करिब ४३ अर्ब बढीको क्षति पुगेको देखाएको छ । झण्डै देशको मृत्युदरको १९ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगले हुने गरेको पाइएको छ ।

एमाले सचेतक महेश बर्तौलाले समाजमा समस्या रहेको बताउँदै सुर्तीजन्य पदार्थलाई राजस्व आम्दानीको बाटो बनाउन नहुने बताए । वार्षिक ३७ लाख ५ सय २९ भन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने गरेकाले डर लाग्दो रहेको बताउँदै उनी यो अवस्थाले दिगो विकास लक्षयमा असर पर्ने बताउँछन् । नेपालले सन २०३० सम्म नसर्ने प्रकृतिका रोगमा एक तिहाइ घटाउने प्रतिबद्धता जनाएको छ । तर, व्यवहारमा लागु नभएको भन्दै ६ वर्षमा त्यो दरमा घटाउन समस्या भएको बर्तौलाको भनाइ छ ।

महेश बर्ताैला

मओवादी केन्द्रका नेता माधव सापकोटा ई-सिगरेट जस्तै हुक्का प्रयोग गर्नेको संख्या पनि उत्तिकै रहेको बताउँछन् । सामाजिक सञ्जालमा हुक्का खाँदै गरेको र हुक्काको धुँवा उडाइरहेको फोटोहरू सानका साथ राखिको देखिएको बताउँदै उनले यसमा पनि प्रतिबन्ध लगाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.