ह्याम्स अस्पतालले मनायो २५ औं वार्षिकोत्सव

  २०८० चैत ३० गते १७:२५     विकासन्युज

काठमाडौं । ह्याम्स अस्पतालले २५ औं वार्षिक उत्सव मनाएको छ । ‘स्वास्थ्य सवैको सरोकार’नारा सहित अस्पतालले विभिन्न कार्यक्रमका साथ वार्षिक उत्सव मनाएको हो ।

शुक्रबार धुम्बारही स्थित अमाका होटेलमा अस्पतालले आयोजना गरेको कार्यक्रममा ‘भेप/ई–सिगरेटले बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ र ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू’ विषयमा समुहगत छलफल गरेको छ ।

पहिलो सत्रमा गरिएको ‘भेप/ई–सिगरेटले बढ्दो गम्भीर स्वास्थ्य चुनौती’मा एमाले सचेतक महेश बर्तौलाले ई-सिग्रेट लगायत सुर्तीजन्य पदार्थको ट्याक्स बढाउनुपर्ने बताएका छन् । कांग्रेस नेता प्रदिप पौडेले यस्ता स्वास्थ्यमा हानी पुर्याउने सामान नेपाल ल्याउन प्रतिबन्ध नै गर्नुपर्ने बताए । यस्तै नेकपा माओबादी केन्द्रका नेता माधव सापकोटाले यस्ता विषयमा सबै दलको एकमत धारणा हुनुपर्ने भन्दै किनबेचमा नै रोक लगाउनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले भने अहिले तत्काल प्रतिबन्ध गर्न समस्या हुने भन्दै भविष्यमा प्रतिबन्धको कल्पना गर्दै अहिले नै काम गर्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेले यो विषयमा सबैभन्दा पहिले सचेतना नै आवश्यक रहेको बताए ।

यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्यलाई हानीकारक गर्ने यस्ता विषयमा गतीलो एैन कानून बनाएर सबैदलले लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै हिसानका उपाध्यक्ष टंकराज आचार्यले ‘भेप/ई-सिगरेट प्रयोग गर्ने विद्यार्थीको संख्या धेरै रहेको बताए ।

यसैगरी कार्यक्रमको दोस्राे सत्रमा नेपाली समाजमा स्वास्थ्यकर्मी विदेश पलायन हुनुको कारणबारे बहस भएको थियो । यो सत्रमा कांग्रेसका मन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई, माओवाद केन्द्रका नेता देबेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. चन्दा अञ्जनी कुमार झा, मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भुषाल, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी र उद्योग वाणीज्यसंघका अध्यक्ष चन्द्र ढकालको उपस्थिति रहेको थियो । उनीहरू नेपालमा स्वास्थ्यकर्मीको अवस्था, विदेश पलायन र यसको कारणका विषयमा छलफल गरेका थिए ।

सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्बाराहीमा अस्पताल संचालन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.