गाडी किन्दा १० लाखसम्म छुट, सस्तो हुँदै कर्जाको ब्याज

  २०८० चैत २९ गते १३:१६     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका गाडी बिक्रेता कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका छन् । सवारी साधन खरिदबिक्रीमा कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका हुन् ।कम्पनीहरूले विभिन्न गाडी खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई एक वर्षको बीमा सुविधा, १० लाखसम्म नगद छुट र अन्य सामानहरू उपहारहरू पाइने स्कीम ल्याएका छन् ।

यस्ता छन् अफर

निसान गाडी किन्दा ६ लाखसम्म छुट

नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो ।

नगद छुट र एक्सचेन्ज बोनसको साथ ग्राहकले १ वर्षको इन्स्योरेन्स तथा एक वर्षकै रोड ट्याक्ससमेत निःशुल्क पाउनेछन् । उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ । निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् ।

फक्सवागेनको ७ प्रतिशतभन्दा कम ब्याज

फक्सवागेनको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनल नेपालले नयाँ वर्ष अफरे ‘नयाँ वर्ष नयाँ पन’ नामको अफर ल्याएको छ । यस अफरमा ६.९९ प्रतिशतमा एसयूभी किन्न पाइने कम्पनीले बताएको छ ।

कम्पनीले सञ्चालन गरेको स्कीममा ग्राहकले ५ वर्षसम्मका लागि स्थीर ब्याजदरमा कर्जा सुविधा पाउने छन् । फक्सवागेनले ल्याएको स्कीममा पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा लिने हो । तर, त्यसमा नपुग ब्याज कम्पनीले नै ब्योहोर्ने छ ।

जर्मन ब्राण्डले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको खरिदमा ग्राहकले निःशुल्क एसोसरिज, एक वर्षको वार्षिक कर, ठाँउका ठाँउ पुरानो गाडीको भ्यालूएसन र टेस्ट ड्राइभमा आकर्षक उपहार दिने जनाएको छ ।

टाटा मोटर्समा एक्सचेन्ज सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि नयाँ कार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत टाटा मोटर्सको शोरूममा भएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ । त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्ज गर्न सकिनेछ ।

यसका लागि एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क गरिने कम्पनीले जनाएको छ । यो योजना टाटा मोटर्सको देशभर रहेका शोरूममा लागू हुने भएको छ ।

जिडब्लुएमका गाडी किन्दा १० लाखसम्म छुट पाइने

विश्वव्यापीरूपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ ।

जिडब्लुएमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाख रुपैयाँसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ ।

हालका एच् सिक्स, र जोलायनमा ८ लाख ५० हजार रुपैयाँ सम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधामार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

सिट्रोनको एक्सचेन्ज अफर

नयाँ वर्षको अवसरमा नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले पनि सिट्रोनको एक्सचेन्ज अफर ल्याएको छ ।

कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकले भारतमा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् ।

यस अफरको बारेमा व्यक्तिगत रूपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सकिनेछ । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ ।

२० प्रतिशत डाउन पेमेन्टमा होन्डाको गाडी किन्न सकिने

हेण्डाले पनि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ ।

जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ ।

यो अफर मिति २०८०/१२/१ गते बाट लागु भइसकेको छ भने उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।

हुन्डाईका गाडी किन्दा ६ लाख छुट

नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ अफर सावर्जनिक गरेको छ ।

कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत हुन्डाईका कुनै पनि मोडलका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको छुट र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्म बोनस पाउन सकिने छ ।

यस योजनाअन्तर्गत गाडी खरिदमा उपलब्ध हुने स्क्रयाच कार्डको तीन गुणसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीले बीमा साथै एक वर्षसम्मको सडक कर पनि बेहोर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.