दोब्बरले बढ्यो हवाइ भाडा : धनगढी पुग्न १७ हजार, भद्रपुरको १२ हजार

  २०८० चैत २९ गते १०:५८     विकासन्युज

काठमाडौं । केही दिनअघि काठमाडौं-धनगढी रुटको हवाइ भाडादर साढे ७ हजार ९ सय रुपैयाँ हाराहारी थियो । काठमाडौंबाट धनगढी जाने यात्रुहरूले सहजै टिकट काटेर धनगढी जान पाउँथे । तर, अहिले धनगढी जानका लागि यात्रुहरूले अधिकतम् १७ हजार १८६ रुपैयाँ भाडा तिर्नु परेको छ ।

यसअघि सो रुटको न्यूनतम हवाई भाडा ७ हजार ९ सय रुपैयाँदेखि उच्चतम ११ हजार रुपैयाँसम्म थियो । एक साताको बीचमा धनगढी रुटको भाडा दोब्बरले बढेको हो ।

यसअघि साढे ६ हजारको हाराहारीमा पर्ने सुर्खेतको हवाइ भाडा अहिले १४ हजार १६८ रुपैयाँ, सोही हाराहारीमा पर्ने नेपालगञ्जको भाडा पनि दोब्बरले बढेको छ । अहिले नेपालगञ्जको टिकट पाउन पनि मुस्किल पर्ने गरेको छ ।

काठमाडौंदेखि भद्रपुर पुग्न यसअघि साढे चार हजार हारहारी लाग्नेमा अहिले बढाएर अधिकतम् १२ हजार ३८३ रुपैयाँ लाग्ने गरेको छ । दुई/चार दिनमै यो किसिमको महँगीले यात्रुलाई आश्चर्य बनाएको छ । वायुसेवा कम्पनीहरुले हाल उडान हुँदै आएका सबै गन्तव्यको भाडादर दोब्बरले बढाएका छन् ।

नयाँ वर्ष सुरु भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा अचाक्ली रुपमा बढाउन थालेका हुन् । यसअघि न्यूनतम फेयरमा उडान गर्दै आएका वायुसेवा कम्पनीले चाडपर्व सुरु भएसँगै उच्चतम फेयरमा टिकट बिक्री गर्न थालेको देखिन्छ । कतिपय ठाउँको हवाइ भाडा शतप्रतिशत बढेको देखिन्छ ।

उसो त अहिले कतिपय ठाउँको अहिले टिकट नै पाइँदैन । वायुसेवा कम्पनीले महँगो मूल्यमा टिकट बिक्री गरिरहेता पनि अधिकांश ठाउँको टिकट नै पाइरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.