तीन अर्बको लागतमा महाराजगञ्जमा पाँचतारे होटल बन्दै, डेढ वर्षभित्रै सञ्चालनमा आउने

  २०८० चैत २७ गते १५:१६     विकासन्युज

तस्विर : बन्दै गरेको लालचन होटल, लालचन ग्रुपका प्रबन्ध निर्देशक नितेश लालचनको सामाजिक सञ्चालबाट

काठमाडौं । व्यावसायिक घरना लालचन ग्रुपले काठमाडौंको महाराजगञ्जमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छ । ग्रुप अन्तर्गतको होटल लालचन प्रालिले काठमाडौंमा उच्तस्तरीय व्यापारीक तथा मनोरञ्जनात्मक होटल स्थापना गर्ने योजना स्वरुप उक्त स्थानमा होटल सञ्चालनमा ल्याउने भएको हो ।

सन् २०१८मा स्थापना भएको होटल लालचनले महाराजगञ्जमा एक लाख ५२ हजार ४८१ वर्गमिटर जग्गाको क्षेत्रफलमा नयाँ होटल बनाउन लागेको हो । कम्पनीका अनुसार उक्त होटलमा कूल एक सय ३५ वटा कोठा हुनेछन् । जसमा ९ वटा स्वीट रुम, ९ वटा जुनियर रुम र बाँकी एक सय १७ वटा स्ट्याण्डर्ड रुम हुने छन् । कम्पनीका अनुसार उक्त होटलमा फुड एण्ड वेभरेजको सुविधा, स्वीमिङ्ग पुल, क्यासिनो, सम्मेलन र भोज सुविधा, स्पा लगायतका विभिन्न सेवा सुविधाहरु रहनेछन् । यी बाहेक कम्पनीले आवश्यकता अनुसार अन्य सेवा सुविधाहरु पनि विस्तारै थप्दै लैजाने योजना बनाएको छ ।

होटल लालचनले कूल तीन अर्ब ९० लाखको अनुमानित लागतमा उक्त पाँचतारे होटल स्थापना गर्न लागेको हो । जहाँ संस्थापकहरुको २७ प्रतिशत र बाँकी ७५ प्रतिशत वित्तीय लगानी हुने छ । कम्पनीका अनुसार संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछन् भने बाँकी २ अर्ब २५ करोड ७० लाख रुपैयाँ बैंकको ऋण लगानी हुने छ । हालसम्म कम्पनीका संस्थापकहरुले ७५ करोड २० लाख रुपैयाँको करिब ४३ प्रतिशत अर्थात ३२ करोड २० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।

हालसम्म ४६ प्रतिशत निर्माण भइसकेको उक्त होटल २०८२ असार अर्थात २०२५ जुलाई भित्रमा सञ्चालनमा आउने कम्पनीको अपेक्षा छ ।
निमार्णाधिन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ६.२ किलोमिटरको दुरीमा अवस्थित छ । विदेशी पर्यटकहरुको चाप बढी हुने र नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक भएकाले पनि कम्पनीले काठमाडौंमा होटल सञ्चालनमा ल्याउन लागेको बताएको छ ।

लालचन ग्रुपले रियल स्टेट र हस्पिटालिटी क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै गइरहेको छ । ग्रुपको बिवा एग्रो प्रालि र बेभर्ली हिल्स प्रालि लगायतका परियोजनाहरु सञ्चालनमा छन् जसको सम्पूर्ण नेतृत्व सोम बहादुर लालचनले गरिरहेका छन् ।

२०२० डिसेम्बरमा भएको सम्झौता अनुसार उक्त होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजले सम्हाल्ने छ । सन् २०२० डिसेम्बरमा होटल लालचन र हिल्टनबीच होटल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । जसअनुसार उक्त होटल ‘डबल ट्री बाइ हिल्टन’को ब्राण्ड बाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।

होटल लालचनले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । जसमा केयर रेटिङ नेपालले केयर एनपी बीबी माइनसको रेटिङ दिएको छ । निर्माणाधिन होटल र सञ्चालन स्थीरतामा जोखिम भएकोले होटललाई उक्त रेटिङ दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.