फेसबुक सञ्चालक जुकरबर्ग संसारकै तेस्रो ठूलो धनी

  २०८० चैत २७ गते १४:१०     विकासन्युज

काठमाडौं । संसारकै ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबुकको मूल कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गका लागि सन् २०२४ उत्कृष्ट वर्ष सावित भएको छ । उनी धनको दौडमा रकेट गतिमा अगाडि बढिरहेका छन् । यसको अनुमान उनको नेटवर्थमा भएको उछाल हेरेर गर्न सकिन्छ, जसका कारण मार्क जुकरबर्ग टप टेन अर्बपतिको सूचीमा तेस्रो स्थानमा पुगेका छन् । सन् २०२० पछि उनले धनको दौडमा इलन मस्कलाई पछि पारेका छन् ।

ब्लुमबर्ग बिलिनायर्स इन्डेक्सका अनुसार विश्वका शीर्ष ३ अर्बपतिको सूचीमा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट २ खर्ब २३ अर्ब अमेरिकी डलर सम्पत्ति सहित पहिलो स्थानमा छन् भने अमेजनका जेफ बेजोस दोस्रो स्थानमा छन् ।

गत शुक्रबार २ खर्ब ७ अर्ब डलर सम्पत्ति सहित विश्वको दोस्रो धनी व्यक्ति मस्कलाई हराएर विश्वको तेस्रो धनी व्यक्ति बनेका मार्क जुकरबर्गको कुल सम्पत्ति १ खर्ब ८७ अर्ब डलर पुगेको छ ।

तीन महिनामा बढ्यो नेटवर्थ

यस वर्षको अन्तिम तीन महिनामा मार्क जुकरबर्गको नेटवर्थमा ठूलो उछाल आएको छ । मेटाको सेयरको वृद्धिसँगै उनको सम्पत्ति ५८ अर्ब ९० करोड डलर अर्थात करिब ४९ खर्ब ७ अर्ब १७ करोड ३९ लाख ८५ हजार रुपैयाँले बढेको छ ।

नेटवर्थमा भएको यो वृद्धिका कारण उनले मस्कलाई चौथो स्थानमा धकेल्दै तेस्रो स्थानमा कब्जा जमाएका छन् । टेस्लाका सीईओ मस्कको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब डलर छ ।

यसअघि १६ नोभेम्बर २०२० मा मार्क जुकरबर्ग १ खर्ब ५ अर्ब ६० करोड डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा पुगेका थिए ।

मस्कका लागि २०२४ खराब वर्ष

एकातिर यो वर्ष मार्क जुकरबर्गका लागि लाभदायक सावित भइरहेको छ भने अर्कातर्फ इलन मस्कका लागि पनि उत्तिकै नराम्रो देखिएको छ ।

ब्लुमबर्गका अनुसार पछिल्लो तीन महिनामा मात्रै मस्कको सम्पत्ति ४८ अर्ब ४० करोड डलर अर्थात करिब ४० खर्ब ३२ अर्ब ८६ करोड ४६ लाख ६० हजार रुपैयाँले घटेको छ ।

यो वर्ष उनको कम्पनीको सेयरमा भारी गिरावट आएको र यसका कारण उनी विश्वको नम्बर एक धनी व्यक्तिको स्थानबाट खसेर चौथो स्थानमा पुगेका छन् ।

शीर्ष १० को सूचीमा परे यी नाम

विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीको पछिल्लो अपडेट हेर्दा बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, मार्क जुकरबर्ग र इलन मस्कपछि बिल गेट्स १लखर्ब ५३ अर्ब डलरसहित पाँचौं स्थानमा छन् भने १ खर्ब ४७ अर्ब डलरसहित स्टिभ बाल्मर छैटौं स्थानमा छन् ।

त्यस्तै १ खर्ब ३८ अर्ब डलरका साथ वारेन बफेट सातौं, आठौं स्थानमा १ खर्ब ३८ अर्ब डलरसाथ ल्यारी पेज, १ खर्ब ३७ अर्ब डलरसाथ नवौं स्थानमा ल्यारी एलिसन र १ खर्ब ३१ अर्ब डलरसाथ १०औं स्थानमा सर्गे ब्रिन छन् ।

मुकेश अम्बानी र गौतम अडानीको वर्चश्व

भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका ११औं धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १ खर्ब १२ अर्ब डलर छ । यस वर्ष अम्बानीको सम्पत्ति १६ अर्ब ११ करोड डलर वा करिब १३ खर्ब ४० अर्ब भारुले बढेको छ ।

दोस्रो भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानी धनीहरूको यो सूचीमा १४औं स्थानमा छन् र उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब डलर छ । यो वर्ष अडानीले पनि १९ अर्ब ९० करोड डलर अर्थात् करिब १६ खर्ब ५० अर्ब भारु कमाएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.