किन आयो अधिकांश बच्चाले चस्मा लगाउनुपर्ने अवस्था ?

  २०८० चैत २२ गते ९:२२     इन्द्रसरा खड्का

काठमाडौं । काठमाडौंकी आन्ना मानन्धर १३ वर्षकी भइन् । उनी अहिले वृहष्पति विद्या सदनमा अध्ययन गर्छिन् । आन्ना कक्षा ७ को परिक्षा दिएर रिजल्टको प्रतीक्षामा छिन् । १३ वर्षकी उनलाई चस्मा नलाउँदा भने अक्षर देख्न मुस्किल पर्छ । जन्मदा उनको आँखामा कुनै समस्या थिएन । तर, जब मोबाइल चलाउन थालिन उनको आँखामा समस्या आउन थाल्यो । आन्नाकी आमा रानु कोभिड– १९ को महामारीमा विद्यालय बन्द हुँदा अनलाइनबाट कक्षा सुरु भएपछि आन्नाले मोबाइल ल्यापटप चलाउन थालिनपछि उनको आँखामा समस्या देखिएको बताउँछिन् ।

साँझ बिहान अनलाइनमार्फत पढ्ने र फुर्सदमा मोबाइलमै गेम खेल्ने उनको दैनिकी नै बन्यो । जसका कारण उनको आँखाबाट पानी आउने, टाउको दुख्नेजस्ता लक्षण देखिन थाल्यो । कोभिडपछि विद्यालय सञ्चालमा आयो । विद्यालय जान थालेपछि आन्नाले शिक्षकले बोर्डमा लेखेका मधुरो देख्न थालिन् । आन्नाले आफ्नो समस्या घरमा आमाबुवालाई सुनाइन् ।

आमाले आँखा जचाउन अस्पताल पुर्याइन् । डाक्टरले उनलाई चस्मा लगाउन सल्लाह दियो । कक्षा ४ मा पढ्दै गर्दा चस्मा लगाउन सुरु गरेकी उनले अहिले माइनस २.७८ पावरको चस्मा लगाएकी छिन् । ‘चस्मा लगाउँदा सबै देख्छु, टाढाको कुरा पनि स्पष्ट देख्न सकिन्छ, उनी भन्छिन्, ‘चस्मा नलगाउँदा अन्धकार हुन्छ केही देख्दिनँ, सुत्ने समयभन्दा बाहेक चस्मा लगाउनै पर्छ ।’

अन्ना आफुसँग पढ्ने धेरै साथीहरू पनि चस्मा लगाएरै आउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा कोही साथीहरू चस्मा नलगाउँदा पनि अक्षर देख्छन् तर, म चस्मा खोल्दा अक्षर नै चिन्दिनँ ।’

बर्दियाका अंकित गिरीको अवस्था पनि अन्नाको जस्तै छ । चस्मा नलगाउँदा उनी अक्षर चिन्नमात्र होइन देख्न सक्दैनन् । ७ वर्षदेखि चस्मा लगाउन सुरु गरेका अंकित अहिले १४ वर्षका भए । यूनाइटेड स्कुलमा कक्षा ८ मा पढिरहेका उनी पनि चस्माको साहाराबाटै अक्षर हेरिरहेका छन् । सानैदेखि आँखामा समस्या हुँदा छोराले चस्मा लगाउनुपरेको अंकितकी आमा ललिता गिरी बताउँछिन् ।

अंकित कक्षा दुईमा पढ्दै आँखामा समस्या भएको थियो । धनगढीको गेटा आँखा अस्पतालका डाक्टरलाई देखाउँदा चस्मा लगाउनुपर्ने बताएपछि सानैदेखि चस्मा लगाउन सुरु गरेको उनी बताउँछिन् । अंकितले पछिसम्मै चस्मा लगाउनुपर्ने चिकित्सकको भनाइले ललितालाई भने चिन्ता लागेको छ । ‘भएको एउटा सन्तान उही हो, अहिलेदेखि नै चस्माबिना पढ्न त के हिँड्नै गाह्रो हुन्छ,’ ललिताले भनिन् ।

आजभोलि धेरैजसो बालबालिकाले चस्माको भरमा उज्यालो देखिरहेका छन् । समयमै समस्या पत्ता लगाइ अस्पतालमा पुगेका बालबालिका चस्माको भरमा भए पनि कतिपय अभिभावक भने समयमै अस्पताल नपुग्ने गरेको चिकित्सकहरू बताउँछन् ।

प्रायः बालबालिका जन्मेदेखि ७ वर्ष उमेरमा पुग्दा आँखासम्बन्धी समस्या धेरै हुन्छ । यस्तो अवस्थामा कतिपय अभिभावकले समयमै बच्चालाई अस्पताल पुर्याउँछन् भने कतिपयले त्यस्ता समस्यालाई वास्ता नगरेको पाइन्छ । जसका कारण बच्चाले जीवनभरि अन्धकारमा बस्नुपर्ने बाध्यता हुन्छ । उपचारमा आउने धेरै बालबालिकालाई समस्याबाट मुक्त हुन चस्मा लगाउनुपर्ने हुन्छ । तर, कतिपय अभिभावक नै छोराछोरीलाई चस्मा लगाइदिन तयार हुँदैनन् ।

आँखारोग विशेषज्ञ डाक्टर बेन लिम्बुले आफ्नो अनुभव सुनाउँदै अभिभावकको लापरबाहीले बच्चाको आँखा अल्छी भएको बताउँछन् । केही वर्ष पहिले एक अभिभावक तीन वर्षको छोराको आँखाको समस्या लिएर अस्पताल पुगे । उनले बालकलाई चस्मा लगाउन सल्लाह दिए । तर, ती बच्चा ८ वर्षको हुँदा उनै अभिभावक बच्चा लिएर फेरि अस्पताल पुगे । ती डाक्टरले जाँच गर्दा बच्चाको आँखाको ज्योति गुमिसकेको थियो । गुमिसकेको आँखाको ज्योति फर्किने सम्भावना लगभग शुन्य हुन्छ ।

बच्चाको अविभावकले चस्मा लगाउन नदिँदा यस्तो समस्या देखिएको डाक्टरले पत्ता लगाए । सानो उमेरमा चस्मा लगाउँदा अरुले हेला गर्ने, यसको बच्चा कमजोर रहेछ भन्ने डरले चस्मा लगाउन नदिएको उदाहरण दिँदै डाक्टरले अस्पताल आउने अभिभावकलाई परामर्शको बढी आवश्यक्ता हुने गरेको बताए ।

नेपालमा बालबालिकामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये आँखाको रोग पनि प्रमुख हो । यस्ता स्वास्थ्य समस्याको समाधान भनेकै नियमित चस्मा लगाउनु हो । तर, अधिकांश अविभावकमा सानै उमेरमा चस्मा लगाउँदा झन् समस्या थपिने त्रासमा हुने गरेको चिकित्सकहरू बताउँछन् ।

आँखारोग विशेषज्ञ डाक्टर लिम्बु बच्चा जन्मेको ६ महिनादेखि एक वर्षको उमेरभित्र आँखाको परीक्षण गर्नुपर्ने बताउँछन् । त्यसपछि स्कुल जाने उमेर ४ देखि ५ वर्षको उमेरमा परीक्षण गराउनुपर्छ । उनका अनुसार यदि बच्चा समय नपुगी ५–६ महिनामै जन्मिएमा वा नवजात शिशुलाई लामो समय अस्पतालमै राख्नु परेमा जन्मेको एक महिनाभित्रै आँखाको परीक्षण गर्नु अनिवार्य हुन्छ ।

आँखामा देखापर्ने समस्या

विशेषगरी बालबालिकामा देखिने आँखाको समस्यामा दृष्टि दोष, आखाँ चिलाउने, छड्केपन, आँखा पाक्ने, सुख्खा आँखा र जन्मजात देखिने मोतियाविन्दु र आँखाको लोति झर्ने आदि हुन् । यी सबै आँखामा देखिने रोगको समयमै उपचार गरिएन भने बालबालिकाको आँखा अल्छि हुन सक्छ । जसलाई अल्छि आखाँ भन्ने गरिन्छ । नेपालमा यो रोग देखापर्ने गरेको छ ।

अल्छि आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । त्यसैले उपचारमा चस्मा लगाइन्छ तर चस्मा लगाए पनि आँखामा दृष्टि भने आउँदैन । अल्छि आँखा हुँदा आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्नेबित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँसु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाँही छड्के हेर्नुपर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने बानी छ भने अल्छी आँखाको शंका गर्न सकिने डा. लिम्बु बताउँछन् ।

चश्मा लगाएर गरिने उपचार

नियमित चस्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्न सक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ । चस्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छि आँखाको उपचार गर्न सकिन्छ । तिनीहरूलाई आँखाको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ ।

काठमाडौंको मच्छेगाउँका ८ वर्षका आरुस खतिवडाले पनि ७ वर्षको उमेरमा चस्मा लगाउनुप¥यो । तर, तीन महिनापछि उनको आँखाको पावर आफैं बढ्दै गयो र चस्माको नियमित आवश्यकता परेन । उनकी आमा मीना खतिवडाले नियमित परिक्षण र उपचारपछि अहिले छोराले चस्मा लगाउन नपर्ने अवस्था आएको बताइन् । आरुस अहिले चस्मा नलगाएरै अक्षर स्पष्ट देख्छन् । तर, उनको आँखाको परिक्षण भने बेलाबेला गराउनुपरेको मीनाले बताइन् ।

बालबालिकाको आँखा जटिल हुन्छ

चिकित्सकका अनुसार बालबालिकाको आँखा एकदमै जटिल हुन्छ । ठूलो मान्छे र बच्चाको आँखामा फरक हुन्छ । बच्चाको आँखाको दृष्टि विकास बच्चा जन्मदादेखि नै हुँदैन । जन्मेपश्चात बिस्तारै आँखा देख्ने गतिमा विकास भएको हुन्छ । बच्चा जन्मेदेखि ७ वर्षको उमेरमा तीव्र गतिमा दृष्टि विकास हुन्छ । त्यो उमेरमा बच्चाको आँखा कुनै कारणले कमजोर छ वा चस्मा लगाउनुपर्ने छ भने त्यो बेला नलगाएको खण्डमा पछि जिन्दगीभर अन्धोपनको सिकार हुनुपर्ने आवस्था हुनसक्छ ।

बच्चा जन्मेदेखि ७ वर्षभित्रको समय बच्चाहरूको आँखाको दृष्टिको लागि महत्वपूर्ण समय हभएको डा. लिम्बु बताउँछन् । कतिपय रोग जन्मेको एकदेखि तीन महिनामा आँखालाई शिथिल बनाएर दृष्टि गुम्ने पनि हुन्छ । यस्ता समस्यालाई समयमै पहिचान गरेर उपचार गरिएन भने पछि यसको उपचार गर्दा पनि प्रभावकारी नहुने उनको भनाइ छ ।

डा. लिम्बुका अनुसार बच्चाहरूमा ७ वर्ष अगाडि आएको समस्या ८ देखि ९ वर्षमा आएर उपचार गर्न खोज्दा निको हुँदैन । अहिले दृष्टि विकास रोकिएका धेरै बालबालिका अस्पताल पुग्ने गरेका छन् । आँखाको ढकनी सानो भएमा उसको दृष्टि रोकिन्छ । डा. लिम्बु भन्छन्, ‘ग्याजेटहरूको धेरै प्रयोगले केही हदसम्म यो समस्या बढ्यो होला तर, विश्वमा नै बालबालिका आँखामा समस्या थियो र छ, पहिले बालबालिकाको आँखा स्वास्थ्यमा राम्रो पहुँच थिएन, अहिले अभभिावकलाई नै यो विषयमा सचेत छन् ।’

प्रविधिको प्रयोगबाट कसरी बच्ने ?

आजभोलि विद्यार्थीको पढाइ नै प्रविधिबाट हुने गरेको छ । यो विषयमा विद्यालयका शिक्षकले पनि ध्यान दिनुपर्छ । बच्चालाई पछाडि राख्दा उसले देख्दैन भन्छ, आँखा मिचिराख्छ भने परिक्षण गर्न सल्लाह दिनुपर्ने डाक्टर बताउँछन् । ‘मोबाइल, कम्प्युटर प्रयोग गर्दा आँखा ड्राई हुन्छ,’ उनी भन्छन्, ‘यो ड्राइनेस आफैंले आँखा बन्द गराउने अवस्था ल्याउँदैन तर त्यसले आँखा दुख्ने, आँखा पोल्ने, बच्चालाई निन्द्रा राम्रोसँग नलाग्ने कहिलेकाहीँ मानसिक सन्तुलनसम्मा पनि असर पार्छ ।’

लामो समयसम्म मोबाइल ग्याजेट चलाएर बस्ने बच्चाको आँखा तुलनात्मक हिसाबले दुर दृष्टिमा असर परेको अध्यनले देखाएको छ । त्यसैले बच्चाको नियमित आँखा परिक्षणमा अभिभावकले ध्यान दिनुपर्ने डा. लिम्बु सल्लाह दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.